Skip to content

प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्डको टिप्पणी : ‘कसैको अनुहार नहेरी जानुहुन्छ, यसरी त हुँदैन’

काठमाडौं – नेकपा संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीप्रति टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै प्रचण्डले प्रधानमन्त्री संसदमा आएर आवश्यक ब्रिफिङ गर्ने गरे पनि अन्य दल तथा सांसदलाई विश्वासमा लिने प्रयास नगरेको बताए। यस्तो कार्यशैलीले अन्ततः प्रधानमन्त्रीलाई नै अप्ठ्यारोमा पार्न सक्ने उनको भनाइ छ ।  ‘सरकारको मुख्य नेतृत्व जिम्मेवार र संवेदनशील हुनुपर्ने हो। आज आउनुभयो, केही ब्रिफिङ गर्नुभयो, यस अर्थमा त उहाँलाई धन्यवाद नै भन्न चाहन्छु,’ प्रचण्डले भने।

तर प्रधानमन्त्रीले अरूका अनुभव र सुझावलाई पनि महत्त्व दिनुपर्नेमा त्यसतर्फ पर्याप्त ध्यान नदिएको उनले बताए । ‘उहाँले अरूलाई पनि विश्वासमा लिनुपर्छ र अरूका अनुभव पनि महत्त्वपूर्ण हुन्छ भन्नेतिर उहाँको ध्यान गएन,’ प्रचण्डले भने । प्रधानमन्त्री शाहले आफ्नै दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदलाई समेत विश्वासमा लिएर अघि बढ्ने प्रयास नगरेको प्रचण्डको आरोप छ । ‘कार्यशैलीले के देखाउँछ भने आफ्नै दलका सांसदलाई विश्वासमा लिने मेहनत गरेको मैले देख्दिनँ। उहाँ आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ,’ उनले भने, ‘यो के तरिका हो? हामी तपाईंलाई सहयोग गर्छौं भनिरहेका छौं, कसैको पनि अनुहार हेर्न नपर्ने के हो यो तरिका? यसरी त हुँदैन ।’  प्रधानमन्त्रीले सबै पक्षसँग संवाद र सहकार्य गर्दै अघि बढ्नुपर्नेमा प्रचण्डले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्