काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता नागरिकको खोजी तथा फेला परेका बेवारिसे शव र मानव अंगको पहिचान गर्न नेपाल प्रहरीले डीएनए परीक्षण प्रक्रिया अघि बढाएको छ । गत भदौ १० गते आएको भीषण बाढीपछि नदी किनार तथा तटीय क्षेत्रमा क्षतविक्षत अवस्थामा शव तथा मानव अंग फेला परिरहेका छन्। पहिचानमा कठिनाइ भएपछि प्रहरीले वैज्ञानिक विधिमार्फत मृतकको पहिचान गर्न डीएनए प्रोफाइलिङ सुरु गरेको हो ।
बेपत्ता नागरिकका आफन्तले डीएनए नमुना दिनुपर्ने
नेपाल प्रहरीले स्वदेश तथा विदेशमा रहेका बेपत्ता नागरिकका पहिलो पुस्ताका नजिकका रगतका नातेदारलाई डीएनए नमुना उपलब्ध गराउन आग्रह गरेको छ। बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाले डीएनए परीक्षणका लागि नमुना दिन सक्ने प्रहरीले जनाएको छ । स्वदेशमा रहेका आफन्तले दुई प्रति पासपोर्ट साइजको फोटोसहित नेपाल प्रहरी अस्पताल महाराजगञ्जको प्याथोलोजी ल्याब वा आफूलाई पायक पर्ने जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्नुपर्नेछ । डीएनए प्रोफाइलिङका लागि ताजा रगतको नमुना संकलन गरिने प्रहरीले जनाएको छ ।
विदेशमा रहेका आफन्तले कसरी नमुना दिने ?
विदेशमा रहेका बेपत्ता नेपाली तथा विदेशी नागरिकका आफन्तले सम्बन्धित देशको आधिकारिक फोरेन्सिक प्रयोगशालाबाट ‘अटोसोमल एसटीआर डीएनए प्रोफाइलिङ’ गराउनुपर्नेछ । प्रयोगशालाबाट प्राप्त डीएनए प्रोफाइलको डिजिटल प्रति नेपाल प्रहरीको आधिकारिक इमेलमा पठाउनुपर्नेछ। इमेलमा निम्न विवरण खुलाउन प्रहरीले आग्रह गरेको छ ।
- बेपत्ता व्यक्तिको पूरा नाम र राष्ट्रियता
- राहदानी वा आधिकारिक परिचयपत्रको विवरण
- हराएको मिति र सम्भावित स्थान
- मान्यताप्राप्त प्रयोगशालाको डीएनए प्रोफाइलिङ रिपोर्ट
- डीएनए नमुना दिने व्यक्ति र बेपत्ता व्यक्तिबीचको पारिवारिक नाता
दुई जना सम्पर्क अधिकारी तोकिए
डीएनए परीक्षण तथा समन्वयका लागि नेपाल प्रहरीले प्रहरी निरीक्षक शम्भुबहादुर केसी र प्रहरी नायव निरीक्षक विष्णु घिमिरेलाई सम्पर्क अधिकारी तोकेको छ ।
प्रहरी निरीक्षक शम्भुबहादुर केसी: ९८४१६१६०९५
प्रहरी नायव निरीक्षक (सई) विष्णु घिमिरे: ९८५७०९१०१३
बाढीका कारण ठूलो संख्यामा नागरिक बेपत्ता हुनुका साथै कतिपय शव क्षतविक्षत अवस्थामा फेला परिरहेकाले वैज्ञानिक विधिबाट पहिचान गरी सम्बन्धित परिवारलाई शव बुझाउन डीएनए परीक्षण प्रक्रिया अघि बढाइएको नेपाल प्रहरीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्