Skip to content

बाढी पीडितको उद्धारमा राज्य चुकेको सांसद थपलियाको आरोप

काठमाडौं – नेपाली कांग्रेसकी सांसद सिता थपलिया (उर्मिला) ले विनाशकारी बाढीका बेला नागरिकको जीवन रक्षा गर्ने आफ्नो पहिलो दायित्व पूरा गर्न राज्य चुकेको आरोप लगाएकी छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थपलियाले राष्ट्रिय शोकको यस घडीमा उद्धार तथा राहतका लागि सरकारलाई साथ दिने प्रतिबद्धता जनाउँदै उद्धार कार्यमा देखिएको ढिलासुस्तीप्रति असन्तुष्टि जनाइन् । उनले बाढी आएको नौ दिन बितिसक्दा पनि त्रिशूली–३ ए र ३ बी जलविद्युत् आयोजनामा सयौँ कामदार फसेको जानकारी हुँदाहुँदै प्रभावकारी उद्धार हुन नसकेको भन्दै प्रश्न उठाइन् । ‘सातौँ दिनमा आएर मात्र सरकारले आयोजनालाई हामीले सुरुङबाट उद्धार गर्न सकेनौँ, अब तपाईँहरू लाग्नुस् भन्नु राज्यको लाचारी हो,’ उनले भनिन् । नागरिकको ज्यान जोगाउने सवालमा राज्य कुनै पनि मूल्यमा चुक्न नहुने भन्दै उनले अहिले नागरिकले राज्य चुकिरहेको अनुभूति गरिरहेको बताइन् ।

धादिङमा १४४ जना बेपत्ता

आफ्नो गृहजिल्ला धादिङमा बाढी तथा पहिरोबाट ठूलो क्षति भएको जानकारी दिँदै सांसद थपलियाले हालसम्म १४४ जना जिल्लावासी बेपत्ता भएको र १० जनाको मात्र शव पहिचान भएको बताइन् । बाल्यकालका साथी तथा गाउँका प्रिय मानिसहरू गुमाउँदा पीडा असह्य भएको उल्लेख गर्दै उनले धादिङमा करिब ५०० घरपरिवार विस्थापित भएको जानकारी दिइन् । उनका अनुसार जिल्लामा ६ वटा पक्की र १३ वटा झोलुङ्गे पुल क्षतिग्रस्त भएका छन् । त्यस्तै, हजारौँ रोपनी खेतीयोग्य जमिन नदी कटानमा परेको तथा विद्यालय, होटल र रिसोर्टलगायतका संरचनामा समेत ठूलो क्षति पुगेको उनले बताइन् । गजुरी र गल्छी गाउँपालिकामा अत्यधिक क्षति भएको उल्लेख गर्दै उनले स्थानीय जनप्रतिनिधिहरू दिनरात उद्धार तथा राहतमा खटिरहेको बताइन् । राहत वितरणमा खटिएका वडा अध्यक्षलगायत जनप्रतिनिधिमाथि मिथ्या आरोप लगाएर पीडितको पीडा थप्ने काम नगर्न उनले आग्रह गरिन् ।

फुर्के खोलामा तत्काल बेलिब्रिज बनाउन माग

पृथ्वी राजमार्गको कृष्णभीर क्षेत्रमा त्रिशूली नदीको कटानका कारण पाँच दिनदेखि यातायात ठप्प हुँदा औषधि, खाद्यान्न र इन्धन आपूर्तिमा गम्भीर समस्या देखिएको उनले बताइन् । त्रिशूली नदीमाथिको फुर्के खोलाको पक्की पुल बगाउँदा धादिङ सदरमुकाम र राजधानीसँगको सम्पर्क टुटेको भन्दै उनले तत्काल बेलिब्रिज निर्माण गरी सडक सम्पर्क पुनःस्थापना गर्न सरकारसँग माग गरिन् । राहत तथा पुनःस्थापनाका लागि संघ सरकारले आवश्यक प्याकेज र मापदण्ड बनाउने, प्रदेश सरकारले समन्वय गर्ने र स्थानीय सरकारले कार्यान्वयन गर्ने गरी तीनै तहको भूमिका थप प्रभावकारी बनाउनुपर्ने उनको सुझाव छ । उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मीप्रति सम्मान व्यक्त गर्दै सांसद थपलियाले बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिन्।

प्रतिक्रिया दिनुहोस्