भक्तपुर – भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा पीडित परिवारहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले वाग्लुङ समाज भक्तपुर, नेपालले प्रधानमन्त्री राहत कोषमार्फत रु. १,११,१११/- (एक लाख एघार हजार एक सय एघार रुपैयाँ) सहयोग गरेको छ । समाजले उक्त सहयोग रकम NERIC Academy द्वारा आयोजित च्यारिटी कार्यक्रम “काठमाडौं उपत्यका व्यापी अन्तरविद्यालय तीज नृत्य प्रतियोगिता–२०८३” का क्रममा सहयोग गर्ने घोषणा गरेको थियो । सोही घोषणाअनुसार समाजले प्रधानमन्त्री राहत कोषमार्फत रकम उपलब्ध गराएको हो ।
तीज नृत्य प्रतियोगितालाई केवल मनोरञ्जन र सांस्कृतिक कार्यक्रमका रूपमा मात्र नभई सामाजिक उत्तरदायित्व र मानवीय सेवासँग जोड्ने उद्देश्यले आयोजित च्यारिटी कार्यक्रमका क्रममा वाग्लुङ समाज भक्तपुरले भोटेकोशी बाढीपीडितका लागि सहयोगको घोषणा गरेको थियो । वाग्लुङ समाज भक्तपुरका अध्यक्ष थम्मनबहादुर बस्नेतले विपद्को समयमा पीडितको दुःखमा साथ दिनु सबैको साझा सामाजिक दायित्व भएको बताए । अध्यक्ष बस्नेतले भने, “भोटेकोशीमा आएको बाढीले धेरै परिवारलाई पीडा र कठिन परिस्थितिमा पुर्याएको छ। यस्तो अवस्थामा हामीले आफ्नो सामाजिक दायित्व सम्झेर सहयोग गर्ने निर्णय गरेका हौँ। NERIC Academy को च्यारिटी कार्यक्रमका क्रममा घोषणा गरिएको सहयोग रकमलाई प्रधानमन्त्री राहत कोषमार्फत पीडितसम्म पुर्याउने उद्देश्यले प्रदान गरेका छौँ। रकम सानो भए पनि यसले विपद्मा परेका परिवारको पीडामा मल्हम लगाउने विश्वास लिएका छौँ।”
उनले सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरूलाई मनोरञ्जनमा मात्र सीमित नराखी मानवीय सेवा, सामाजिक चेतना र सहयोगको अभियानसँग जोड्नुपर्ने धारणा व्यक्त गरे । साथै, भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि राज्य, संघसंस्था, निजी क्षेत्र तथा आम नागरिक सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा उनले जोड दिए । NERIC Academy द्वारा आयोजित “काठमाडौं उपत्यका व्यापी अन्तरविद्यालय तीज नृत्य प्रतियोगिता–२०८३” मा विभिन्न विद्यालयको सहभागिता रहेको थियो । कार्यक्रमले नेपाली मौलिक संस्कृति र तीजको संरक्षण तथा प्रवर्द्धनसँगै सामाजिक सेवाको भावना अभिवृद्धि गर्ने सन्देशसमेत दिएको थियो । वाग्लुङ समाज भक्तपुरले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत मानवीय सहायता, विपद् व्यवस्थापन तथा सामाजिक सेवाका कार्यमा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएको छ । विपद्मा परेका नागरिकको दुःखमा साथ दिनु नै वास्तविक सामाजिक सेवा हो भन्ने भावनाका साथ वाग्लुङ समाज भक्तपुरले भोटेकोशी बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै उक्त सहयोग प्रदान गरेको हो ।



प्रतिक्रिया दिनुहोस्