Skip to content

बाढीबाट झन्डै ४ खर्बको क्षति अनुमान, पुनर्स्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार गरेको नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो । प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बाढीबाट भवन, बस्ती, पुल, स्वास्थ्य, शिक्षा, कृषि, ऊर्जा, विद्युत् र दूरसञ्चारलगायतका क्षेत्रमा ठूलो क्षति पुगेको बताए ।

उनका अनुसार प्रभावित क्षेत्रको प्रारम्भिक पुनःस्थापना अर्थात् ‘अर्ली रिकभरी’का लागि आगामी चार महिनामा ७ अर्ब ९५ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ । उप्रेतीले भने, ‘सबै क्षेत्रमा अहिले ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्षति भएको डेटा आएको छ। अर्ली रिकभरीका लागि आगामी चार महिनामा ७ अर्ब ९५ करोड रुपैयाँ लाग्ने अनुमान गरेका छौँ।’

उनका अनुसार खोजी, उद्धार तथा राहत वितरणसँगै क्षतिको विवरण संकलन गर्ने काम पनि जारी छ । बिहीबार मात्रै बाढी प्रभावित उत्तरी क्षेत्रबाट एक चिनियाँ नागरिकसहित ११४ जनाको उद्धार गरी काठमाडौं ल्याइएको प्राधिकरणले जनाएको छ। त्यस्तै, अन्य प्रभावित क्षेत्रबाट थप २० जनाको पनि उद्धार गरिएको छ । प्राधिकरणका अनुसार बाढीमा परी हालसम्म १ हजार २५९ जनाको शव फेला परेको छ भने ५ हजार ८३ जना अझै सम्पर्कविहीन छन् ।

प्रतिक्रिया दिनुहोस्