काठमाडौँ – विश्वविख्यात अमेरिकी प्रविधि कम्पनी एनभिडिया (NVIDIA) का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड अमेरिकी डलर (करिब १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी) सहयोग प्रदान गरेका छन् । रसुवाको भोटेकोशी जलाधार क्षेत्र लगायतका बाढी प्रभावित क्षेत्रमा उद्धार तथा पुनर्निर्माणका लागि उक्त रकम उपलब्ध गराइएको हो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नो आधिकारिक भिडियो सन्देशमार्फत उक्त सहयोगको पुष्टि गर्दै हुआङलाई नेपाल सरकारका तर्फबाट हार्दिक आभार व्यक्त गरेका छन् । जेन्सेनको यो सहयोगले अरूलाई पनि सहयोगका लागि प्रेरित गर्ने वाग्लेले बताए । यो सहयोग हालसम्म बाढी–पहिरो राहतका लागि कुनै पनि बहुराष्ट्रिय कम्पनी वा व्यक्तिबाट प्राप्त सबैभन्दा ठूला सहयोगमध्ये एक मानिएको हो । अर्थमन्त्री वाग्लेका अनुसार एनभिडियाको यस ऐतिहासिक सहयोगसँगै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल संकलित रकम १० अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । प्राप्त रकम रसुवा, नुवाकोट, धादिङ लगायतका बाढी प्रभावित जिल्लाहरूमा तत्काल राहत, विस्थापितको पुनर्स्थापना तथा पूर्वाधार पुनर्निर्माणमा खर्च गरिने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्