काठमाडौँ – नेपाली कांग्रेसले १५ औं महाधिवेशन कठमाडौंको भृकुटीमण्डपमा गर्ने भएको छ। महाधिवेशनका लागि असोज १६ देखि २० गतेसम्म हल, बगैंचा, पार्किङ स्थल बुकिङ गरिएको कांग्रेसले जनाएको छ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज राष्ट्रिय सभागृह प्रदर्शनीमार्गमा पत्र पठाउँदै प्रदर्शनी हल, पार्किङ स्थल र बगैंचा बुकिङ गरिदिन आग्रह गरेका हुन् । कांग्रेस महाधिवेशन असोज १६ देखि १९ गतेसम्म चल्नेछ ।
कांग्रेसले भदौ २४ गतेदेखि वडा अधिवेशन गर्ने गरी यसअघि कार्यतालिका ल्याएको थियो । तर यो अवधिमा वडा अधिवेशन नहुने भएको छ । आज सानेपामा बसेको बैठकले संशोधित कार्यतालिका ल्याउने तयारी छ । कांग्रेसले पूर्वनिर्धारित केन्द्रीय महाधिवेशन कार्यतालिकालाई कायमै राखेर तल्ला तहका अधिवेशन कार्यतालिका संशोधन गर्न लागेको हो । गत पुसमा कांग्रेसले विशेष महाधिवेशन पनि भृकुटीमण्डपमै गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्