Skip to content

कांग्रेसको १५औँ महाधिवेशन : वडा अधिवेशन असोज ३ र ४ गते, जिल्ला–प्रदेश अधिवेशन महाधिवेशनपछि

काठमाडौँ – नेपाली कांग्रेसले १५औँ महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिले मंगलबार तेस्रो पटक महाधिवेशन कार्यतालिका परिमार्जन गरेको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले नयाँ कार्यतालिका सार्वजनिक गरेको हो । नयाँ कार्यतालिकाअनुसार कांग्रेसको वडा अधिवेशन असोज ३ र ४ गते, गाउँ/नगर अधिवेशन असोज ७ गते तथा प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १० गते हुनेछ ।

त्यसपछि कांग्रेसको केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने यसअघि तय भएको मिति यथावत् राखिएको छ । केन्द्रीय महाधिवेशनको मिति भने नयाँ कार्यतालिकामा परिवर्तन गरिएको छैन । यसअघि चैत ११ गते बसेको केन्द्रीय समिति बैठकले वडा अधिवेशन भदौ २ गते, गाउँ/नगर अधिवेशन भदौ ७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन भदौ १७ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन भदौ २४ गते, जिल्ला अधिवेशन असोज २ र ३ गते तथा प्रदेश अधिवेशन असोज ७ र ८ गते गर्ने निर्णय गरेको थियो । त्यसपछि निर्वाचन समितिले भदौ २ गते उक्त कार्यतालिका संशोधन गर्दै वडा अधिवेशन भदौ २४ गते, गाउँ/नगर अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन भदौ ३१ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज ३ गते, जिल्ला अधिवेशन असोज ७ गते र प्रदेश अधिवेशन असोज १० गते गर्नेगरी मिति तोकेको थियो ।

मंगलबारको बैठकले उक्त कार्यतालिका पनि परिमार्जन गर्दै जिल्ला र प्रदेश अधिवेशनलाई तत्कालका लागि महाधिवेशनपछि गर्ने व्यवस्था गरेको छ । नयाँ कार्यतालिकामा वडा, गाउँ/नगर तथा प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न गरेपछि सिधै केन्द्रीय महाधिवेशन गर्ने उल्लेख छ । महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल बुक गर्न कांग्रेस केन्द्रीय कार्यालयले मंगलबार नै पत्राचार गरिसकेको छ । तर, कांग्रेसभित्र महाधिवेशनको मितिलाई लिएर देखिएको विवाद भने अझै समाधान भएको छैन । गत पुसमा तत्कालीन केन्द्रीय कार्यसमितिको असहमतिबीच महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा भएको विशेष महाधिवेशनपछि पार्टीभित्रको विवाद कायम छ । निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहबीच महाधिवेशनको कार्यतालिकामा सहमति जुट्न नसकेका कारण असोज १६ देखि १९ गते तोकिएको १५औँ महाधिवेशन निर्धारित मितिमै हुने हो वा होइन भन्ने अन्योल अझै कायमै छ ।

प्रतिक्रिया दिनुहोस्