काठमाडौं – नेपाली कांग्रेसकी सांसद सीता थपलिया ‘उर्मिला’ले रसुवा बाढीमा बेपत्ता भएका आफन्तको खोजीका लागि परिवारले गरेको आग्रहप्रति सामाजिक सञ्जालमा भइरहेको दुर्व्यवहारप्रति आपत्ति जनाएकी छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थपलियाले विपत्तिका कारण आफन्त गुमाएका तथा बेपत्ता भएका परिवारले सरकारसँग खोजीका लागि आग्रह गर्दै सार्वजनिक गरेका भिडियोमा गरिएको अमर्यादित टिप्पणीप्रति दुःख व्यक्त गरिन् । ‘नागरिकको अभिभावक सरकार हो । विपत्तिका कारण आफ्ना परिवारका सदस्य गुमाएका वा हराइरहेका परिवारको खोजी गरिदिन सरकारसँग आग्रह गर्दै बोलेका भिडियोहरूमा हाम्रै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले गरेका केही टिप्पणीहरू पढ्दा झनै दुःख लागेको छ,’ उनले भनिन् ।
संवेदनशील अवस्थामा समेत अरूको पीडामाथि सामाजिक सञ्जालमा तल्लो स्तरको टिप्पणी गर्ने प्रवृत्तिप्रति प्रश्न गर्दै उनले मानवता हराउँदै गएको हो कि भन्ने चिन्ता व्यक्त गरिन् । ‘यस्तो दुःखद् र संवेदनशील समयमा पनि सामाजिक सञ्जालमा अरूको पीडामाथि यसरी तल्लो स्तरमा पुगेर टिप्पणी गर्ने हिम्मत कसरी आउँछ ? के हामीभित्रको मानवता यति धेरै हराइसकेको हो ?,’ उनले प्रश्न गरिन् । थपलियाले अरूको दुःखलाई मजाक नबनाउन सबैलाई आग्रह गर्दै आज अरूमाथि परेको विपत्ति भोलि आफूहरूमाथि पनि पर्न सक्ने बताइन् ।
यसैबीच, उनले त्रिशूली नदीमाथि रहेको फुर्के खोलाको पक्की पुल बाढीले बगाउँदा धादिङ सदरमुकाम र राजधानीसँगको सडक सम्पर्कमा गम्भीर समस्या उत्पन्न भएको बताइन् । उनले तत्काल बेलिब्रिज निर्माण गरी सडक सम्पर्क पुनर्स्थापित गर्न सरकारसँग माग गरिन् ।



प्रतिक्रिया दिनुहोस्