Skip to content

विपत्तिमा परेका नागरिकलाई होच्याउने सदस्यलाई रास्वपाबाट निष्कासन गर्छौं : रवि लामिछाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्तिमा परेका नागरिकलाई होच्याउने र सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गर्ने अन्ध समर्थक पार्टीलाई आवश्यक नरहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै लामिछानेले शोक र पीडामा रहेका नागरिकको पक्षमा उभिने तथा उनीहरूको आँसु पुछ्ने सदस्य पार्टीलाई आवश्यक रहेको बताए । उनले नागरिकको आक्रोश र चित्कारलाई गलत ढंगले व्याख्या गर्ने, सामाजिक सञ्जालको आडमा ओठे जवाफ फर्काउने तथा साइबर बुलिङ गर्ने छुट कसैलाई नभएको स्पष्ट पारे ।

‘नागरिकको आक्रोश र चित्कारलाई गलत व्याख्या गर्ने, सामाजिक सञ्जालको आडमा ओठे जवाफ फर्काउने र साइबर बुलिङ गर्ने छुट कसैलाई छैन,’ लामिछानेले भने । उनले रास्वपाको कुनै पनि तहका सदस्य वा पदाधिकारीले विपद्मा परेका नागरिकमाथि सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गरेमा कडा कारबाही गरिने चेतावनी दिए । ‘यदि रास्वपाको कुनै पनि तहको सदस्य वा पदाधिकारीले विपद्‌मा परेका नागरिकमाथि सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्नेलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निकालिनेछ,’ उनले भने ।

लामिछानेले विपद्को समयमा पीडित नागरिकप्रति संवेदनशील बन्न र राजनीतिक आस्थाभन्दा माथि उठेर मानवीय व्यवहार प्रदर्शन गर्नसमेत आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्