काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘जेनजी आन्दोलन’ स्मृति दिवसका क्रममा आफूले दिएको अभिव्यक्तिप्रति क्षमा मागेकी छन्। राष्ट्रिय सभाको बिहीबार बसेको बैठकमा राष्ट्रिय सभा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले आफ्नो अभिव्यक्तिले कसैको भावनामा चोट पुगेको भए क्षमाप्रार्थी रहेको बताइन्। उनले भनिन्, ‘मैले बोलेका तथ्यगत कुराले यहाँहरूको हृदयमा चोट पुगेको भए म क्षमाप्रार्थी छु। आगामी दिनमा यस्ता विषयमा सतर्क हुनेछु।’
मन्त्री गौतमले भदौ २३ गते आयोजित कार्यक्रममा राष्ट्रिय सभाले कानुन निर्माणका क्रममा असहयोग गरेको आशयको अभिव्यक्ति दिएको भन्दै आलोचना भएको थियो। त्यसबारे स्पष्टीकरण दिँदै उनले आफूले बोलेका कुरालाई गलत ढङ्गले व्याख्या गरिएको दाबी गरिन्।
उनले आफूले राष्ट्रिय सभालाई होच्याउने कुनै मनसाय नराखेको स्पष्ट पार्दै संसद्का दुवै सदनबीच सहकार्य आवश्यक रहेको बताइन्। ‘जेनजी आन्दोलनका क्रममा उठेका कानुन निर्माण र संविधान संशोधनका विषयमा मैले तथ्यभन्दा बाहिर गएर केही बोलेकी छैन। मैले राष्ट्रिय सभाले असहयोग गर्यो भन्ने शब्द कतै पनि प्रयोग गरेकी छैन, माननीयहरूले रेकर्ड हेर्न सक्नुहुन्छ,’ उनले भनिन्। मन्त्री गौतमले कानुन निर्माण प्रक्रिया प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित हुँदै राष्ट्रपतिबाट प्रमाणीकरण हुने भएकाले दुवै सदनबीचको सहकार्य अपरिहार्य रहेको बताइन्।
‘प्रतिनिधिसभाले दुई तिहाइ मत दिए पनि कानुन निर्माणका लागि दुवै सदनको सहकार्य अनिवार्य छ,’ उनले भनिन्। आफ्नो अभिव्यक्तिलाई लिएर पत्रकार, राजनीतिक दलका नेता तथा सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी भएको उल्लेख गर्दै मन्त्री गौतमले त्यसबाट राष्ट्रिय सभा सदस्यहरूको भावनामा चोट पुगेको हुनसक्ने भन्दै दुःख व्यक्त गरिन्। यद्यपि, आफूले नबोलेका कुराको जिम्मेवारी लिन नसक्ने उनले स्पष्ट पारिन्। आगामी दिनमा संसद्का दुवै सदनबीच सुमधुर सहकार्य गर्दै कानुन निर्माण प्रक्रियालाई अघि बढाउने प्रतिबद्धता पनि उनले जनाइन्। ‘मैले बोकेको हदसम्म म जवाफ दिन तयार छु। हामी मिलेर नै कानुन निर्माणको प्रक्रियालाई गति दिनुपर्छ,’ मन्त्री गौतमले भनिन्। पछिल्लो समय कानुन निर्माण प्रक्रियामा ढिलाइ भइरहेको भन्ने गुनासोप्रति पनि मन्त्री गौतमले ध्यानाकर्षण गराउँदै छिटोछरितो रूपमा कानुन निर्माण गर्न संसद्का दुवै सदनबीच प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड दिइन्।



प्रतिक्रिया दिनुहोस्