Skip to content

बाढी प्रभावितलाई विशेष राहत प्याकेज ल्याउन सांसद थपलियाको माग

काठमाडौँ – नेपाली कांग्रेसकी सांसद सीता थपलिया ‘उर्मिला’ले बाढी तथा विपद्बाट प्रभावित धादिङ, रसुवा र नुवाकोटका नागरिकका लागि सरकारले तत्काल विशेष राहत प्याकेज ल्याउनुपर्ने माग गरेकी छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बोल्दै सांसद थपलियाले विपद्बाट प्रभावित नागरिक तथा व्यवसायीहरूले बैंकबाट लिएको ऋणको ब्याज र विद्युत् महसुल पुनःस्थापना नहुन्जेलसम्म मिनाहा गर्न सरकारसँग माग गरिन् । उनले विपद्का कारण व्यवसाय तथा जनजीवन प्रभावित भएका बेला नागरिकमाथि बैंकको किस्ता र अन्य आर्थिक दायित्वको बोझ थप्न नहुने बताइन्। प्रभावित क्षेत्रमा जनजीवन सामान्य अवस्थामा नफर्किएसम्म बैंकको किस्ता तथा विद्युत् महसुल तिर्न सक्ने अवस्था नरहेकाले सरकारले तत्काल राहतको निर्णय लिनुपर्ने उनको भनाइ थियो । बैठकमा सांसद थपलियाले केही समयअघि उद्योगमन्त्रीले व्यवसायीलाई लक्षित गर्दै दिएको विवादास्पद अभिव्यक्तिको समेत कडा आलोचना गरिन्। उद्योगमन्त्रीले व्यवसायीहरूको ‘पाता फर्काउनुपर्ने’ भन्दै दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै उनले भनिन्, ‘उद्योगमन्त्रीज्यूले राजीनामा त दिनुभयो, तर उहाँले हिजो उद्योगी व्यवसायीहरूको पाता फर्काउनुपर्छ भन्नुभएको थियो। बोलीमा लगाम नलाउँदा आज उहाँले पदबाटै राजीनामा दिनुपर्‍यो।’

सांसद थपलियाले देशका विभिन्न ठाउँमा नागरिकले भोगिरहेको ग्यास अभावको समस्या पनि गम्भीर रूपमा उठाइन्। उनले मन्त्रीको धम्कीपूर्ण अभिव्यक्तिको प्रतिवाद गर्दै भनिन्, ‘ग्यास नपाएका नागरिकहरूले मिलेर मन्त्रीज्यूकै पाता फर्काइदिए भने उहाँको हालत के होला ? त्यसैले मन्त्रीज्यूलाई मेरो आग्रह छ– नागरिकलाई पाता फर्काउने धम्की होइन, तत्काल सहज रूपमा ग्यास चाहिएको छ।’ सरकारले मन्त्रीको घमण्ड र धम्कीपूर्ण भाषाभन्दा नागरिकको चुलो र उनीहरूले भोगिरहेको पीडालाई प्राथमिकतामा राख्नुपर्ने उनले बताइन्। विपद्को मारमा परेका नागरिकलाई राहत दिनुपर्ने समयमा उल्टै धम्कीपूर्ण भाषा प्रयोग गर्ने प्रवृत्ति लोकतान्त्रिक सरकारका लागि सुहाउने विषय नभएको उनको भनाइ थियो । सांसद थपलियाले धादिङ, रसुवा र नुवाकोटलगायत प्रभावित जिल्लामा जनजीवन सामान्य नहुँदासम्म नागरिकलाई आर्थिक दायित्वबाट राहत दिन सरकार गम्भीर बन्नुपर्नेमा जोड दिइन् ।

प्रतिक्रिया दिनुहोस्