काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्री साह मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीसहित कर्मचारीहरूले मन्त्री साहलाई मन्त्रालयमा स्वागत गरेका थिए । पदभार ग्रहणपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री साहले मन्त्रालयमा यसअघि भएका काम तथा प्रगतिको जानकारी लिएर आगामी कार्य अघि बढाउने बताए । उनले विगतमा भएका कामको समीक्षा गर्दै त्यसकै आधारमा आफ्नो कार्ययोजना बनाउने संकेत गरे ।
आम नागरिकले खाना पकाउने ग्यास सहज रूपमा पाउने अवस्था हुन्छ कि हुँदैन भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री साहले मन्त्रालयभित्र छलफल गरेपछि मात्र ठोस निर्णयमा पुग्ने बताए । ‘यसमा चाहिँ छलफल गरेर काम गर्छु,’ उनले भने, ‘जनताको आवश्यकता जति दिनैपर्छ ।’ मन्त्री साहले आफ्नो पहिलो प्राथमिकता निवर्तमान उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवसँग छलफल गरी मन्त्रालयमा यसअघि भएका काम र प्रगतिबारे जानकारी लिनु रहेको बताए । ‘पहिलो मेरो प्राथमिकता भनेको मन्त्रीजीसँग कुरा गरेर विगतमा के–के भएको थियो भन्ने जानकारी लिएर अगाडि बढ्यो भने सजिलो हुन्छ,’ उनले भने । नवनियुक्त मन्त्री साहले मन्त्रालयका कर्मचारी तथा सरोकारवालासँग समन्वय गर्दै आगामी कामलाई प्रभावकारी रूपमा अघि बढाउने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्