Skip to content

‘सरकारको कानुनी भाषा हरायो, धम्कीको भाषा बढ्यो’ : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारको शैलीप्रति कडा प्रश्न उठाउँदै सरकारको कानुनी भाषा हराउँदै गएको र धम्कीको भाषा बढ्दै गएको आरोप लगाएका छन् । सरकारको पछिल्लो कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै आङ्देम्बेले प्रश्न गरेका छन्, ‘सरकार हिँड्न खोजेको बाटो कुन हो ?’ उनले चुनावका बेला वर्तमान प्रधानमन्त्रीबाट ठेकेदारलाई रुखमा बाँध्ने, बाटोमा सुताउने र खोरमा थुन्नेसम्मका चेतावनी आएको स्मरण गर्दै त्यसपछि पनि मन्त्री तथा सत्तापक्षीय सांसदबाट धम्कीपूर्ण अभिव्यक्ति आउने क्रम नरोकिएको बताए । भौतिकमन्त्रीले ठेकेदारको खुट्टा भाँच्ने, तत्कालीन उद्योगमन्त्रीले ग्यास उद्योगीको पाता कस्ने चेतावनी दिएको उल्लेख गर्दै आङ्देम्बेले सत्तापक्षीय केही सांसदले प्रहरीका एसपीलाई सडकमा घिसार्ने र प्रश्न गर्ने जनतालाई थुन्नेसम्मको चेतावनी दिएको बताए ।

कानुन बनाउन नसकेपछि कानुनमन्त्रीले राष्ट्रिय सभालाई दोष दिने गरेको भन्दै उनले गृहमन्त्रीको कार्यशैलीमाथि समेत प्रश्न उठाए । विगतमा पटकपटक कानुनी विवादमा परेका व्यक्तिलाई साक्षी राखेर गृहमन्त्रीले अन्य दलका नेताहरूलाई ‘सुध्रिन’ चेतावनी दिने गरेको उल्लेख गर्दै आङ्देम्बेले प्रश्न गरे, ‘आफ्नो कार्यशैलीचाहिँ सुधार्नु पर्दैन ?’ भोटेकोशी र त्रिशूलीको बाढीमा आफन्त गुमाएका नागरिकले आफ्ना मान्छेको खोजी र उद्धारका लागि सरकारसँग गुहार माग्दा समेत सत्ता समर्थित व्यक्तिहरूबाट धम्कीपूर्ण अभिव्यक्ति आउनु गम्भीर विषय भएको उनको भनाइ छ । त्यस्तै, व्यवसायीमाथि धरपकड, जेनजी अभियन्तामाथि दमन तथा आलोचना र असहमतिप्रति सरकार आक्रामक देखिएको आरोप लगाउँदै उनले सरकारलाई नागरिक तर्साउने नभई कानुन कार्यान्वयन गर्न सुझाव दिए ।

‘सरकारको काम कानुन कार्यान्वयन गर्ने हो । नागरिकलाई तर्साउने होइन,’ आङ्देम्बेले भने । राज्यशक्ति जनतालाई तर्साउन प्रयोग गरिए त्यो लोकतन्त्र नभई सत्ताको दम्भ हुने चेतावनी दिँदै उनले प्रश्नबिनाको राज्य सम्भव नहुने बताए । ‘प्रश्नको हत्या गरेर लोकतन्त्र जीवन्त रहन सक्दैन । कांग्रेस जीवन्त प्रश्नमा लोकतन्त्रको जीवन देख्छ,’ आङ्देम्बेको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्