काठमाडौं – प्रधानमन्त्री बालेन शाह ‘बालेन्द्र’ ले आगामी असोज ८ गते संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने भएका छन् । परराष्ट्र सचिव अमृतबहादुर राईले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्री शाहको महासभा सम्बोधनको कार्यतालिका सार्वजनिक गरेका हुन् । सचिव राईका अनुसार संयुक्त राष्ट्रसंघको ८१औँ महासभाअन्तर्गतको उच्चस्तरीय आमबहस आगामी सेप्टेम्बर २२ देखि २८ सम्म अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजना हुँदैछ । सोही क्रममा प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ अर्थात् असोज ८ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।
महासभामा ८१ देशका राष्ट्रप्रमुख तथा ५० देशका सरकार प्रमुख सहभागी हुने जानकारी संयुक्त राष्ट्रसंघबाट प्राप्त भएको राईले बताए । प्रधानमन्त्री शाहले सम्बोधनका क्रममा नेपालमा गत वर्ष भएको जेनजी आन्दोलन, त्यसपछि सम्पन्न सफल निर्वाचन तथा निर्वाचनमार्फत ठूलो जनमतसहित गठन भएको वर्तमान सरकारका प्राथमिकताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने तयारी रहेको छ । त्यसैगरी अन्तर्राष्ट्रिय सहयोग र सद्भावलाई निरन्तरता दिन तथा थप विस्तार गर्न विश्व समुदायसमक्ष उच्चस्तरबाटै आह्वान गर्ने अवसरका रूपमा महासभालाई उपयोग गरिने परराष्ट्र सचिव राईले बताए । प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण नेपालले पटक–पटक भोग्नुपरेको जनधनको ठूलो क्षतिका विषयमा पनि विश्व समुदायको ध्यानाकर्षण गराउने भएका छन् । नेपालले नगण्य मात्रामा कार्बन उत्सर्जन गरे पनि जलवायु परिवर्तनको नकारात्मक प्रभाव भने ठूलो मात्रामा भोगिरहेको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाइने राईले बताए ।
महासभामा प्रधानमन्त्री शाहले जलवायु न्यायका लागि विश्व समुदायलाई आह्वान गर्ने कार्यक्रमसमेत रहेको छ । नेपालले प्रकृतिमैत्री जीवनशैली, ४६ प्रतिशतभन्दा बढी वन क्षेत्र, विशाल हिमालय क्षेत्र तथा बृहत् नदी प्रणालीमार्फत विश्व वातावरण संरक्षण र प्रवर्द्धनमा पुर्याउँदै आएको योगदानबारे समेत अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराइनेछ । महासभाका क्रममा नेपालले उच्चस्तरीय साइड इभेन्टसमेत आयोजना गर्ने भएको छ । विश्वव्यापी जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा परेको नकारात्मक प्रभाव र त्यसबाट सिर्जित विनाशकारी परिणामबारे छलफल गर्दै विश्व समुदायको ध्यानाकर्षण गर्नु उक्त कार्यक्रमको मुख्य उद्देश्य रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैगरी महासभाका क्रममा परराष्ट्रमन्त्री शिशिर खनालले अति कम विकसित मुलुक, भू–परिवेष्ठित विकासोन्मुख मुलुक, असंलग्न मुलुक तथा जी–७ लगायतका विभिन्न मन्त्रिस्तरीय बैठकमा सहभागिता जनाउने कार्यक्रम रहेको छ ।
परराष्ट्र सचिव राईका अनुसार परराष्ट्रमन्त्री खनालले संयुक्त राष्ट्रसंघले आयोजना गर्ने विभिन्न उच्चस्तरीय छलफल तथा साइड इभेन्टमा समेत सम्बोधन गर्नेछन् । साथै छिमेकी मुलुकसहित अन्य देशका समकक्षी तथा संयुक्त राष्ट्रसंघका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ ।



प्रतिक्रिया दिनुहोस्