नयाँदिल्ली – भारतको राजधानी नयाँदिल्लीमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपति सी चिनफिङ आज भारत आइपुग्दै छन् । उनी करिब सात वर्षपछि पहिलोपटक दिल्ली भ्रमणमा आउन लागेका हुन् ।
सी शनिबार दिउँसो करिब १२ः३० बजे नयाँदिल्ली पुग्ने कार्यक्रम छ । ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुनुका साथै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने तयारी छ । दुई नेताबिचको भेटलाई भारत–चीन सम्बन्ध सुधार तथा द्विपक्षीय सहयोगका दृष्टिले महत्त्वपूर्ण मानिएको छ । शनिबार दिउँसो २ः३५ बजे ब्रिक्स सदस्य राष्ट्रका नेताहरूको बन्द सत्र सुरु हुनेछ । उक्त सत्रमा समावेशी विश्व शासन र बहुपक्षीय व्यवस्थालाई थप सुदृढ बनाउने विषयमा छलफल हुने कार्यक्रम छ । त्यसपछि नेताहरूले ‘भारत इनोभेट्स’ प्रदर्शनीको अवलोकन गर्ने, सामूहिक फोटो खिच्ने तथा संयुक्त वृक्षरोपण गर्ने कार्यक्रम तय गरिएको छ । साँझ भारतीय प्रधानमन्त्री मोदीले सहभागी नेताहरूका लागि रात्रिभोज आयोजना गर्नेछन् ।
आइतबार सम्मेलनको मुख्य खुला सत्र आयोजना हुनेछ । बिहान १०ः५० बजे सुरु हुने उक्त सत्रको मुख्य विषय ‘खुलापन, नवप्रवर्तन, सहकार्य र स्थायित्वमार्फत समावेशी विश्व विकासका लागि भविष्य निर्माण’ रहेको छ । सम्मेलनको अन्त्यमा नयाँदिल्ली घोषणापत्र जारी गरिनेछ ।
ग्लोबल साउथमा केन्द्रित छलफल
सम्मेलनमा ब्रिक्स सदस्य राष्ट्रबाहेक अफ्रिका, क्यारेबियन तथा अन्य क्षेत्रका देशका प्रतिनिधि पनि सहभागी भइरहेका छन् । विश्व व्यापार संगठन (डब्लूटीओ) की महानिर्देशक न्गोजी ओकोन्जो–इवेला पनि सम्मेलनमा सहभागी हुन दिल्ली पुगेकी छन् । भारतको विदेश मन्त्रालयका अनुसार अफ्रिका र क्यारेबियन क्षेत्रका आमन्त्रित प्रतिनिधिको सहभागिताले समावेशी व्यापार तथा विकासबारे संवाद अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । विश्व व्यापार प्रणाली सबैका लागि प्रभावकारी बनाउने विषयमा पनि सम्मेलनमा छलफल हुने बताइएको छ ।
क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगेज परिल्ला तथा बुरुन्डीका राष्ट्रपति एभेरिस्ते न्दायिशिमिये पनि सम्मेलनमा सहभागी हुन भारत पुगेका छन् । न्दायिशिमियेले सम्मेलनमा अफ्रिकी संघको प्रतिनिधित्व गर्नेछन् । इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियांतो पनि दिल्ली पुगेका छन् । सम्मेलनका क्रममा ब्रिक्स बैठकसँगै भारत र इन्डोनेसियाबीच द्विपक्षीय सहयोग, विकास र समृद्धिका विषयमा छलफल हुने अपेक्षा गरिएको छ । थाइल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री सिहासक फुङकेटकेओ पनि सम्मेलनमा सहभागी हुँदै छन् । भारतको विदेश मन्त्रालयले भारत र थाइल्यान्डबीचको बहुआयामिक रणनीतिक साझेदारीलाई थप गहिरो बनाउने अवसरका रूपमा उनको भ्रमणलाई लिएको छ ।
पुटिनलाई मोदीको ‘तिरुक्कुरल’ उपहार
यसैबीच प्रधानमन्त्री मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई तमिल दार्शनिक तिरुवल्लुवरको प्रसिद्ध कृति ‘तिरुक्कुरल’ को रुसी भाषामा अनुवादित प्रति उपहार दिएका छन् । १३३ अध्याय र १ हजार ३३० दोहा रहेको उक्त कृतिमा नैतिकता, शासन, सामाजिक सम्बन्ध र प्रेमलगायत विषय समेटिएका छन् । भारतका उपराष्ट्रपति सीपी राधाकृष्णनले पुटिनलाई यस्तो उपहार दिनु भारतको समृद्ध सभ्यतागत विरासतको प्रस्तुति भएको बताएका छन् । ब्रिक्स सम्मेलनका क्रममा विदेशी पाहुना र प्रतिनिधिलाई भारतका विभिन्न क्षेत्रका उत्पादन समेटिएको विशेष ‘गुडी ब्याग’ समेत उपलब्ध गराइएको छ । त्यसमा बिहारको सत्तु र मखाना, केराको चिप्स, ओडिशाको कफी तथा गुजरातको स्टोल राखिएको छ ।त्यस्तै, पाहुनाका लागि तयार गरिएको टेबलवेयरमा राजस्थानको जयपुरको परम्परागत हस्तकलालाई समेटिएको छ । सम्मेलनका लागि करिब ३०० कारीगरले सिल्भर–प्लेटेड टेबलवेयर र कटलरी तयार गरेको बताइएको छ ।
यसपटकको ब्रिक्स सम्मेलनमा विश्व व्यापार, समावेशी विकास, बहुपक्षीयता र ग्लोबल साउथका प्राथमिकतासँगै भारत–चीन र भारत–रुसजस्ता महत्त्वपूर्ण द्विपक्षीय सम्बन्धका विषय पनि चर्चामा रहने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्