बैतडी – नेपाली कांग्रेस बैतडीको पञ्चेश्वर गाउँपालिका कार्यसमितिले पार्टीभित्र एकता कायम नभएसम्म वडा तथा पालिका अधिवेशन नगर्ने निर्णय गरेको छ । शनिबार बसेको गाउँपालिका कार्यसमितिको बैठकले नेपाली कांग्रेस पूर्णरूपमा एकढिक्का भएर नआएसम्म कुनै पनि तहको अधिवेशनमा सहभागी नहुने निर्णय सर्वसम्मत रूपमा गरेको हो । बैठकको निर्णय पुस्तिकामा ‘नेपाली कांग्रेस पूर्णरूपमा एकढिक्का भएर नआएको खण्डमा कुनै पनि तहको अधिवेशन नगर्ने निर्णय सर्वसम्मत पारित गरियो’ उल्लेख गरिएको छ ।
गाउँपालिका सभापति रमेशबहादुर चन्दले पार्टीभित्र एकता कायम नभएसम्म कुनै पनि तहको अधिवेशन नगर्ने निर्णय कार्यसमिति बैठकबाट गरिएको जानकारी दिए । उनका अनुसार बैठकमा चारवटा वडाका सभापति, २०७९ र २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसका तर्फबाट उम्मेदवार बनेका नेतासहित केही क्रियाशील सदस्यहरूको सहभागिता थियो । ‘१ र २ नम्बर वडाको प्रतिनिधित्व थिएन । ३, ४, ५ र ६ नम्बर वडाका सभापतिज्यूहरू हुनुहुन्थ्यो । दुई–चार जना अन्य क्रियाशील सदस्यहरू पनि हुनुहुन्थ्यो,’ सभापति चन्दले भने, ‘२०७९ र २०७४ का उम्मेदवारहरू पनि हुनुहुन्थ्यो । बैठकमा बोलाएको त्यत्ति हो । निर्णय सर्वसम्मत गर्यौँ ।’
कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर संस्थापन र संस्थापनइतर समूहले छुट्टाछुट्टै कार्यतालिका अघि सारेका छन् । संस्थापन पक्षले असोज ३ र ४ गते वडा अधिवेशन गर्ने कार्यतालिका तय गरेको छ भने पूर्वसभापति शेरबहादुर देउवा पक्षले असोज १५ गते वडा अधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ । यसैबीच, शुक्रबार मात्रै कांग्रेसका दुई दर्जन नेताहरूले सार्वजनिक अपिल जारी गर्दै दुवै पक्षलाई आ–आफ्ना अधिवेशन कार्यतालिका स्थगित गरी पार्टीभित्र एकता कायम गर्न वार्ता र संवाद अघि बढाउन आग्रह गरेका थिए ।पञ्चेश्वर गाउँपालिका कार्यसमितिको पछिल्लो निर्णयले कांग्रेसको महाधिवेशन तयारीसँगै पार्टीभित्र देखिएको गुटगत विवाद स्थानीय तहसम्मै पुगेको संकेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस्