Skip to content

दक्षिण कोरियामा अपिहिमाल गाउँपालिका अध्यक्ष बोहरालाई सुदूरपश्चिम समाजको सम्मान

काठमाडौं – मित्रराष्ट्र दक्षिण कोरियाको भ्रमणमा रहेका अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकेरे बोहरा र साहित्यकार एवं गजलकार कमल संघर्षलाई सुदूरपश्चिम समाज दक्षिण कोरियाले राजधानी सियोलमा स्वागत तथा सम्मान गरेको छ । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट रोजगारी तथा विभिन्न सिलसिलामा दक्षिण कोरिया पुगेर बसोबास गर्दै आएका सुदूरपश्चिमेलीहरूको साझा संस्था सुदूरपश्चिम समाज दक्षिण कोरियाले अध्यक्ष बोहरा र साहित्यकार संघर्षलाई सम्मान गरेको हो ।

कार्यक्रममा समाजका पदाधिकारी तथा सदस्यहरूले मातृभूमि र जन्मभूमिप्रतिको माया, सम्मान र अपनत्वलाई विदेशमा रहेर पनि निरन्तर कायम राख्दै सामाजिक सहकार्यलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए । सम्मान ग्रहण गर्दै अपिहिमाल गाउँपालिका अध्यक्ष बोहराले दक्षिण कोरियामा रहेर पनि सुदूरपश्चिमको कला, संस्कृति, समाज र मातृभूमिप्रतिको माया एवं सम्बन्धलाई निरन्तरता दिइरहेकोमा सुदूरपश्चिम समाजप्रति आभार व्यक्त गरे । उनले आफूलाई दक्षिण कोरियामा न्यानो स्वागत तथा सम्मान गरेकोमा समाजका पदाधिकारी, सदस्य तथा सम्पूर्ण सुदूरपश्चिमेलीप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै संस्थाको उत्तरोत्तर प्रगतिको शुभकामना दिए ।

उनले विदेशमा रहेका नेपालीहरूले आफ्नो मातृभूमिप्रतिको सम्बन्धलाई अझ बलियो बनाउँदै सामाजिक तथा रचनात्मक क्षेत्रमा सहकार्य गर्नुपर्ने धारणा व्यक्त गरे । सुदूरपश्चिम समाज दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष डम्बर न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजका सल्लाहकार मदन ढकाल, गणेश सन्ज्याललगायतको उपस्थिति थियो । त्यसैगरी समाजका उपाध्यक्ष कमल बिष्ट, महासचिव सुरेन गिरी, सचिव रुक्मा बमलगायत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको कार्यक्रममा सहभागिता रहेको थियो । विदेशमा रहेर पनि आफ्नो जन्मभूमि, भाषा, संस्कृति र समाजसँगको सम्बन्धलाई जीवन्त राख्दै आएको सुदूरपश्चिम समाज दक्षिण कोरियाले आगामी दिनमा समेत सुदूरपश्चिमको सामाजिक, सांस्कृतिक तथा विकासका क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्