Skip to content

प्रधान सेनापति सिग्देल चीन प्रस्थान, रथी प्रदीपजङ्ग केसीलाई कामु प्रधान सेनापतिको जिम्मेवारी

काठमाडौं – प्रधान सेनापति अशोकराज सिग्देल चीनको साताव्यापी औपचारिक भ्रमणका लागि आज बेइजिङतर्फ प्रस्थान गरेका छन् । चीनको औपचारिक निमन्त्रणामा सेप्टेम्बर १३-१९ सम्म हुने यस भ्रमणका क्रममा सेनापति सिग्देल बेइजिङमा आयोजना हुने १३ औँ ‘बेइजिङ सियाङसान फोरम’ मा समेत सहभागी हुने कार्यक्रम रहेको छ । नेपाली सेनाका अनुसार यस भ्रमणले नेपाल र चीनबीचको आपसी सैनिक सम्बन्धलाई थप विस्तार गर्नुका साथै सैनिक कूटनीतिमार्फत नेपालको समग्र परराष्ट्र नीतिलाई टेवा पुर्‍याउन महत्त्वपूर्ण योगदान दिने विश्वास लिइएको छ ।

बेइजिङ प्रस्थान गर्नुअघि प्रधान सेनापति सिग्देललाई जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । त्यसपछि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जङ्ग केसीले बिदाइ गरे । प्रधान सेनापतिको भ्रमण अवधिभर उनको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीप जङ्ग केसीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने नेपाली सेनाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्