धनगढी – दार्चुलाको व्यास गाउँपालिका–४ स्थित सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेवसिंह धामीको मृत्यु प्रकरणमा थुनामा रहेका आठ अभियुक्तलाई धरौटीमा छाड्न उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासले आदेश दिएको छ ।
जिल्ला अदालत दार्चुलाले पुर्पक्षका लागि कारागार चलान गरेका आठै जना अभियुक्तलाई उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको हो । न्यायाधीश मातृकाप्रसाद भण्डारी र गिरिराज गौतमको संयुक्त इजलासले जिल्ला अदालतको थुनछेक आदेश बदर गर्दै नयाँ आदेश जारी गरेको हो ।
उच्च अदालतले आत्महत्या दुरुत्साहन मुद्दाका प्रतिवादी परमानन्द भट्ट र दलिदत्त भट्टलाई जनही २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । त्यस्तै खिमानन्द भट्ट, हरिदत्त भट्ट, पुष्करराज भट्ट र पदमराज भट्टलाई जनही १ लाख ५० हजार रुपैयाँ तथा नरेन्द्रदत्त भट्ट र विक्रमसिंह कुँवरलाई जनही १ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको छ । उच्च अदालतको आदेश औपचारिक रूपमा जिल्ला कारागार दार्चुलामा भने पुगिसकेको छैन । शुक्रबार फैसला भएकाले अदालतको पत्र आउन केही समय लाग्न सक्ने जिल्ला कारागारले जनाएको छ ।
जिल्ला कारागार दार्चुलाका जेलर उमेशसिंह बिष्टका अनुसार अदालतको औपचारिक पत्र प्राप्त भएपछि थुनामा रहेका अभियुक्तहरूलाई रिहा गर्ने प्रक्रिया अघि बढाइनेछ । सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेवसिंह धामी गत वैशाखमा विद्यालयमै झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । मृत्यु हुनुअघि धामीले आफ्नो फेसबुकमा हाल मुद्दा खेपिरहेका आठै जनाको नाम उल्लेख गर्दै आफूलाई आत्महत्या गर्न बाध्य पारिएको दाबी गरेका थिए । सोही फेसबुक स्टाटस तथा घटनासँग सम्बन्धित अन्य आधारमा प्रहरीले आठ जनालाई पक्राउ गरी आत्महत्या दुरुत्साहनसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको थियो । जिल्ला अदालतले उनीहरूलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको थियो ।



प्रतिक्रिया दिनुहोस्