धादिङ – मर्मत कार्य सुरु गरिएको १०औँ दिनमै पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिर सडक सञ्चालनमा आएको छ । गत भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले कृष्णभिर सडकको तल्लो भाग कटान गरेपछि सडक भासिएको थियो । भासिएको सडकभन्दा केही माथिको भित्तो कटान गरी नयाँ मार्ग निर्माण गरेर सडकलाई १० दिनमै अस्थायी रूपमा सञ्चालनमा ल्याइएको हो । आज अपराह्नदेखि ग्यास बोकेका बुलेट तथा ट्रकहरू नयाँ मार्ग हुँदै सञ्चालनमा आएका छन् । ग्यास बुलेट नयाँ मार्गबाट अघि बढाउँदा सुरक्षाका लागि नेपाली सेनाको टोलीसमेत कृष्णभिर पुगेको थियो । यसैबीच, धादिङकी प्रमुख जिल्ला अधिकारीलगायत अधिकारीहरूले पनि आज कृष्णभिर पुगेर सडकको अवस्थाबारे स्थलगत अवलोकन गरेका छन् । तत्कालका लागि ग्यास बुलेट र ट्रकलाई मात्र एकतर्फी रूपमा सञ्चालन गर्न दिइएको छ । सडक विभागका अनुसार सडकलाई बिहीबारदेखि दुईतर्फी रूपमा सञ्चालनमा ल्याउने गरी थप काम भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्