Skip to content

गुल्मीमा तीज मनाउन माइती जान हिँडेकी महिलालाई खोलाले बगायो, अवस्था अज्ञात

गुल्मी – गुल्मीमा निस्सी खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । मुसीकोट नगरपालिका–५, इन्द्रगौडा घर भएकी अन्दाजी २८/२९ वर्षीया कल्पना पुन आइतबार साँझ माइतीघरमा तीज मनाउन जाने क्रममा खोलाले बगाउँदा बेपत्ता भएकी हुन् । प्रहरीका अनुसार उनी मुसीकोट–५ स्थित घरबाट इस्मा गाउँपालिका–४, हुलामा रहेको माइतीघर जाने क्रममा आइतबार साँझ करिब ७ बजे निस्सी खोला तर्दै थिइन् । सोही क्रममा खोलाले उनलाई बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । घटनाबारे स्थानीयमार्फत जानकारी पाएपछि प्रहरी चौकी इस्माबाट प्रहरी सहायक निरीक्षक सुमन रावतको कमाण्डमा चार जनाको टोली घटनास्थलतर्फ खटिएको छ । यस्तै, प्रहरी चौकी पौदीअमराईबाट प्रहरी वरिष्ठ नायब निरीक्षक विजयनाथ यादवको कमाण्डमा चार जनाको टोली पनि खोजी तथा उद्धारका लागि परिचालन गरिएको प्रहरीले जनाएको छ । प्रहरी टोलीले स्थानीयको सहयोगमा बेपत्ता पुनको खोजी भइरहेको छ । उनको अवस्था भने अझै अज्ञात रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्