Skip to content

आजको मौसम : देशका अधिकांश भूभागमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौँ – हाल देशको मौसममा विभिन्न प्रणालीहरूको प्रभावले गर्दा बदली हुनुका साथै देशका धेरैजसो स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

त्यसैगरी, देशका पहाडी भूभागका केही स्थानमा समेत मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेश र कोशी प्रदेशका तराईका थोरै स्थानमा पनि चट्याङ्गसहित मध्यम वर्षाको अनुमान गरिएको छ । विशेषगरी कोशी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति पनि देशभर साधारणतया बदली कायम रहनेछ । देशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ भने पहाडी र तराई भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुन सक्नेछ । रातको समयमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

मेघगर्जन, चट्याङ्ग तथा भारी वर्षाका कारण नदीनालामा पानीको सतह बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरो जान सक्ने तथा जनजीवन र यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्