Skip to content

यूनिटी स्कुलको आयोजनामा नेसनल प्याब्सन भक्तपुरको लोकनृत्य प्रतियोगिता सम्पन्न

भक्तपुर – सूर्यविनायक नगरपालिका–५ स्थित यूनिटी इङ्लिस स्कुलको आयोजनामा नेसनल प्याब्सन भक्तपुरको जिल्ला स्तरीय अन्तरविद्यालय सामूहिक तथा एकल लोकनृत्य प्रतियोगिता–२०८३ सम्पन्न भएको छ । नेपाली मौलिक लोककला, संस्कृति र परम्पराको संरक्षणमा विद्यार्थीको सहभागिता बढाउने उद्देश्यले आयोजित प्रतियोगितामा भक्तपुरका विभिन्न विद्यालयका विद्यार्थीहरूले सामूहिक तथा एकल विधामा लोकनृत्य प्रस्तुत गरेका थिए । विद्यार्थीहरूले नेपाली मौलिक कला, संस्कृति र परम्परा झल्कने आकर्षक नृत्य प्रस्तुत गर्दै आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए ।

प्रतियोगिताको सामूहिक लोकनृत्यतर्फ इडेन गार्डेन स्कुल प्रथम, बिमल मेमोरियल विद्यापीठ द्वितीय, पाथिभरा एकेडेमी तृतीय तथा प्रसादी पाठशाला सान्त्वना भएका छन् । त्यस्तै, एकल लोकनृत्यतर्फ इडेन गार्डेन स्कुल प्रथम, प्रसादी पाठशाला द्वितीय, मदरल्याण्ड स्कुल तृतीय तथा क्वालिटी स्कुल सान्त्वना भएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रणबहादुर गुमान्जुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सूर्यविनायक नगरपालिका–५ कटुञ्जेका वडाध्यक्ष राजकुमार जोशी प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जोशीले विद्यार्थीहरूले नृत्यमार्फत आफ्नो कला, सीप र संस्कारलाई अभिव्यक्त गरेको भन्दै प्रतियोगिता उत्साहजनक रहेको बताए । यस्ता कार्यक्रमले विद्यार्थीको प्रतिभा प्रस्फुटनसँगै नेपाली कला, संस्कृति र परम्पराको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने उनको भनाइ थियो । कार्यक्रमका विशेष अतिथि तथा नेसनल प्याब्सन भक्तपुरका प्रमुख सल्लाहकार जी.बी. खड्काले यूनिटी इङ्लिस स्कुलले आयोजना गरेको प्रतियोगिताले नेसनल प्याब्सन भक्तपुरअन्तर्गतका विद्यालयबीच एकता र सहकार्यको सन्देश दिएको बताए । ‘एकतामै बल हुन्छ’ भन्ने भावनालाई यस्ता कार्यक्रमले थप मजबुत बनाउने उनले उल्लेख गरे ।

नेसनल प्याब्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले प्रतियोगिताको व्यवस्थापकीय पक्ष सबल रहेको बताउँदै कार्यक्रम उत्कृष्ट रूपमा सम्पन्न गरेकोमा आयोजक यूनिटी स्कुल र प्रधानाध्यापक विपिन गुमान्जूप्रति आभार व्यक्त गरे । नेसनल प्याब्सन भक्तपुरका आगामी कार्यक्रमहरू पनि आपसी सहकार्य र एकताका साथ प्रभावकारी रूपमा सञ्चालन गर्न सबैको सहभागिता आवश्यक रहेको उनले बताए । यूनिटी इङ्लिस स्कुलका प्रधानाध्यापक विपिन गुमान्जुले प्रतियोगितालाई जित–हारका रूपमा मात्र नभई कला, सिर्जना र अनुशासनको अभ्यासका रूपमा लिनुपर्ने बताए । प्रतियोगिता निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन भूमिका निर्वाह गर्ने निर्णायक तथा कार्यक्रम व्यवस्थापनमा सहयोग गर्ने बोर्ड सदस्यहरूप्रति उनले धन्यवाद व्यक्त गरे । विद्यालयस्तरबाटै यस्ता कार्यक्रमलाई निरन्तरता दिँदा नयाँ पुस्तामा मौलिक संस्कृति, लोककला र परम्पराप्रति रुचि तथा अपनत्व बढ्ने आयोजकको विश्वास छ।

प्रतिक्रिया दिनुहोस्