Skip to content

देउवा समूहको चेतावनी : अदालतको फैसला नपर्खी कांग्रेस महाधिवेशन अघि बढाउनु उचित छैन

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले पार्टीको आधिकारिकतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा एकतर्फी रूपमा अधिवेशन तथा महाधिवेशनको प्रक्रिया अघि बढाउनु उचित नहुने जनाएको छ । देउवा समूहले गठन गरेको महाधिवेशन आयोजक समितिका संयोजक डा. शशाङ्क कोइरालाले मंगलबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गर्दै कांग्रेस अहिले असहज र चुनौतीपूर्ण परिस्थितिबाट गुज्रिरहेको बताएका हुन् । उनले पार्टीको वैधानिकता, लोकतान्त्रिक संस्कार र संगठनात्मक एकता संकटमा परेको भन्दै नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाए। अदालतमा विचाराधीन विषयलाई बेवास्ता गर्दै एकतर्फी रूपमा महाधिवेशनको प्रक्रिया अघि बढाउनु दुर्भाग्यपूर्ण भएको उनको भनाइ थियो ।

‘पार्टीको आधिकारिकतासम्बन्धी विषय सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा एकतर्फी रूपमा अधिवेशन र महाधिवेशनको कार्यतालिका घोषणा गरिनु दुर्भाग्यपूर्ण छ,’ कोइरालाले भने, ‘अदालतको फैसला नपर्खी वा वार्ता र संवादमार्फत सहमति नखोजी एकलौटी रूपमा अगाडि बढ्नु कुनै पनि हालतमा उचित मान्न सकिन्न ।’ कोइरालाले पद बाँडफाँडलाई मात्रै पार्टीभित्रको विवाद समाधानको आधार बनाउने प्रवृत्तिले कांग्रेसको गौरवशाली इतिहास र लोकतान्त्रिक संस्कार कमजोर पार्ने चेतावनीसमेत दिए। नेता तथा कार्यकर्ताको आत्मसम्मान कुनै पनि पदको सौदाबाजीको विषय हुन नसक्ने उनले बताए । उनले असोज ३ गतेदेखि सुरु गर्ने भनिएको संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुनसमेत नेता–कार्यकर्तालाई आग्रह गरेका छन्। विधि र प्रक्रिया मिचेर अधिवेशन अघि बढाउन खोजिएको भन्दै उनले १४औँ महाधिवेशनबाट निर्वाचित वैधानिक नेतृत्वले सार्वजनिक गरेको कार्यतालिकाअनुसार अघि बढ्न आह्वान गरे ।

‘विधि र प्रक्रिया मिचेर सुरु गर्ने भनिएको अधिवेशनमा भाग नलिइयोस्,’ कोइरालाले भने, ‘१४औँ महाधिवेशनबाट निर्वाचित वैधानिक नेतृत्वले सार्वजनिक गरेको कार्यतालिका अनुसार असोज १५ गतेदेखि सञ्चालन हुने वडा अधिवेशनलगायत तहका कार्यक्रममा सक्रिय सहभागिता जनाउन सम्पूर्ण साथीहरूलाई हार्दिक अनुरोध गर्दछौँ।’ कोइरालाले आगामी मंसिर २१, २२ र २३ गते हुने केन्द्रीय महाधिवेशनलाई सफल बनाउनसमेत कांग्रेसका नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्