Skip to content

दार्चुलाका मडगाउँ र सिप्टी गैरा बस्तीको तत्काल व्यवस्थापन गर्न सांसद ठगुन्नाको माग

काठमाडौं – नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले दार्चुलाका पहिरो तथा जमिन भासिएका जोखिमयुक्त बस्तीका नागरिकको तत्काल उद्धार, राहत तथा पुनःस्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै दार्चुलाबाट निर्वाचित सांसद ठगुन्नाले अविरल वर्षाका कारण व्याँस गाउँपालिका–४ मडगाउँ बस्तीमाथिबाट जमिन भासिँदा तीन दर्जन घर क्षतिग्रस्त भएको र स्थानीय बासिन्दा विस्थापित भएको जानकारी गराए । उनले मडगाउँको पुरै बस्ती जोखिममा रहेकाले विस्थापित नागरिकलाई तत्काल राहत तथा सुरक्षित बसोबासको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । साथै, बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्था देखिएकाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट तत्काल विज्ञ टोली पठाएर आवश्यक व्यवस्थापन गर्न उनले माग गरे ।  त्यसैगरी, नौगाड गाउँपालिका–४ सिप्टी गैरा बस्तीमाथिबाट भदौ २८ गते पहिरो आएपछि उक्त बस्तीसमेत जोखिममा रहेको भन्दै ठगुन्नाले बस्ती संरक्षणका लागि आवश्यक व्यवस्थापन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

सांसद ठगुन्नाले विपद्का घटनामा तत्काल उद्धार तथा राहतका लागि जिल्ला दैवी प्रकोप उद्धार समितिसँग पर्याप्त बजेट नहुँदा समस्या भइरहेको बताए। पालिकाहरूले समेत आफ्नै स्रोतसाधनबाट प्रभावकारी रूपमा राहत तथा उद्धार गर्न नसकिरहेको उनको भनाइ छ ।उनले तत्कालीन राहत, उद्धार, पुनर्निर्माण तथा पुनःस्थापनाका लागि गृह मन्त्रालय र केन्द्रीय दैवी प्रकोप उद्धार समितिमार्फत जिल्ला दैवी प्रकोप उद्धार समितिलाई थप बजेट उपलब्ध गराउन माग गरे । जिल्ला–जिल्लामा पर्याप्त बजेट उपलब्ध भएमा मात्रै विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका कामलाई तीव्रता दिन सकिने भन्दै उनले गृह मन्त्रालयको विशेष ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस्