Skip to content

ग्यास वितरण गर्न नसकेर सरकार लाचार सावित भयो : पद्मा अर्याल

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले खाना पकाउने ग्यासको सहज वितरणसमेत गर्न नसकेको भन्दै सरकारको आलोचना गरेको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद पद्मा अर्यालले ग्यासको कृत्रिम अभावका कारण सर्वसाधारण, विशेषगरी निम्न आय भएका परिवार, मजदुर, विद्यार्थी तथा अपांगता भएका व्यक्ति प्रभावित भएको बताइन् । उनले ग्यास नपाएर एक सुत्केरीका श्रीमान्ले खोलामा हाम फालेको घटना स्मरण गर्दै सरकार ग्यास वितरणमा समेत असफल भएको आरोप लगाइन् ।

‘एक सुत्केरीका श्रीमान्ले ग्यास नपाएर खोलामा हाम फालेको घटना ताजै छ । यो सरकार ग्यास वितरणसमेत गर्न नसकेर लाचार सावित भएको छ,’ उनले भनिन्, ‘यो कृत्रिम अभावले ज्यालामा रोजगारी गर्ने ६५ प्रतिशतभन्दा बढी जनतालाई आक्रान्त बनाएको छ।’

सांसद अर्यालले ग्यासको अभावका कारण नागरिक महँगो मूल्य तिर्न बाध्य भएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। उनले ग्यासको अभावलाई सरकारले सामान्य रूपमा लिए पनि दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने वर्गका लागि यो गम्भीर समस्या बनेको बताइन्  । ‘अहिले भइरहेको ग्यासको अभाव सरकारलाई सामान्य लाग्न सक्छ । तर गरिखाने वर्ग, मजदुर, विद्यार्थी, अपांग भएका व्यक्ति तथा समग्र निम्न वर्गका लागि खाना पकाउने ग्यासको अभावका कारण आक्रान्त छ,’ उनले भनिन् ।उनले एउटा मात्रै ग्यास सिलिन्डर हुने र सकिएपछि त्यही दिन साटेर ल्याउनुपर्ने परिवारको संख्या कति छ भन्ने तथ्यांक सरकारसँग माग गरिन् । ‘एउटा मात्रै ग्यास सिलिन्डर हुने र त्यही दिन ग्यास साटेर ल्याउने परिवारको संख्या कति छ ? त्यसको तथ्यांक सरकारसँग छ ?’ उनले प्रश्न गरिन् । निम्न आय भएका परिवारका लागि विद्युतीय चुल्हो सहज विकल्प बन्न नसकेको भन्दै अर्यालले ग्यास खोज्नकै लागि काम छाड्नुपर्ने अवस्था आएको बताइन् । ‘महँगो मूल्यमा ग्यास किन्न बाध्य जनता छन् । निम्न वर्गका लागि विद्युतीय चुल्होको सुविधा छैन । काम छाडेर ग्यास खोज्न जाने कि काम गर्न जाने ?’ उनले प्रश्न गरिन् ।

प्रतिक्रिया दिनुहोस्