काठमाडौं – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले भोटेकोशी बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि १ करोड १ रुपैयाँ सहयोग गरेको छ । नेसनल प्याब्सनले मंगलबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको हो । भोटेकोशी नदीमा आएको अकस्मात् बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लाका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको भन्दै नेसनल प्याब्सनले दुःख व्यक्त गरेको छ । बाढीमा ज्यान गुमाएका नेपाली तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै संघले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।
बाढीका कारण विद्यार्थी, शिक्षक तथा विद्यालय परिवारसमेत प्रभावित भएका छन् । कतिपय विद्यालय भवन, कक्षाकोठा तथा शैक्षिक संरचनामा क्षति पुगेकाले राहतसँगै शैक्षिक क्षेत्रको पुनःस्थापनालाई समेत प्राथमिकतामा राख्नुपर्ने नेसनल प्याब्सनले जनाएको छ ।नेसनल प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले विपद्को समयमा निजी क्षेत्रका विद्यालयहरूले पनि सामाजिक उत्तरदायित्व निर्वाह गर्दै प्रभावित समुदायको साथमा उभिनुपर्ने बताए । राहत सहयोगसँगै प्रभावित विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन तथा विद्यालयको शैक्षिक वातावरणलाई सामान्य अवस्थामा फर्काउन आवश्यक सहयोग र समन्वय गरिने उनले बताए । बाढीबाट विद्यालय भवन, कक्षाकोठा र शैक्षिक सामग्रीमा क्षति पुगेका स्थानमा विद्यार्थीको नियमित पठनपाठन प्रभावित हुने अवस्था रहेकाले शिक्षा पुनःस्थापनालाई पनि विपद् व्यवस्थापनको महत्वपूर्ण पक्षका रूपमा लिनुपर्ने नेसनल प्याब्सनको धारणा छ । नेसनल प्याब्सनले प्रभावित विद्यार्थी, शिक्षक, विद्यालय तथा समुदायलाई तत्काल राहत उपलब्ध गराउनुका साथै शैक्षिक गतिविधि पुनः सञ्चालन र क्षतिग्रस्त विद्यालयको पुनर्निर्माणमा समेत आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्