काठमाडौं – बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको अभाव छिट्टै समाधान हुने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले दाबी गरेका छन् । मंगलबार दिउँसो पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री साहले भारतबाट आगामी २–३ दिनसम्म दैनिक १ सय ६० बुलेट ग्यास भित्र्याउने तयारी गरिएको जानकारी दिए । उनका अनुसार यसका लागि आवश्यक सम्पूर्ण प्रबन्ध मिलाइसकिएको छ । ग्यास डिपोमा रित्तो सिलिन्डर राखेर घण्टौंसम्म पालो पर्खनुपर्ने अवस्था अब छिट्टै अन्त्य हुने उनको भनाइ छ । ‘आगामी केही दिनसम्म लगातार १ सय ६० बुलेटका दरले ग्यास ल्याउने सम्पूर्ण प्रबन्ध मिलाइसकिएको छ,’ मन्त्री साहले भने, ‘यो परिमाणको ग्यास बजारमा पुगेपछि उपभोक्ताको माग सहजै पूरा हुने हाम्रो विश्वास छ ।’
हाल एलपी ग्यास आपूर्तिमा मुख्य समस्या पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा गएको पहिरो बनेको छ । पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि तराई क्षेत्रका रिफिलिङ केन्द्रबाट ट्रकमार्फत सिलिन्डर काठमाडौं ल्याउने गरिएको छ । तर, ट्रकमार्फत भइरहेको ढुवानीले मात्रै काठमाडौं उपत्यकामा बढेको ग्यासको माग धान्न नसकेको ग्यास उद्योगीहरूले बताउँदै आएका छन् । यही कारण बजारमा ग्यासको अभाव देखिएको हो । यसअघि ग्यास संकट समाधान गर्न नसकेको भन्दै विभागीय मन्त्री गौरीकुमारी यादवको चौतर्फी आलोचना भएको थियो । उनको बहिर्गमनपछि मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री साहले ग्यास आपूर्तिलाई आफ्नो प्राथमिकतामा राखेका छन् ।
मन्त्री साहले एलपी ग्याससँगै बजारमा देखिएको चिनीको अभाव तथा मूल्यवृद्धिको समस्या समाधानका लागि पनि सरकारले काम गरिरहेको बताए । केही दिनभित्रै चिनीको आपूर्ति तथा मूल्यसम्बन्धी समस्या पनि व्यवस्थापन हुने उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्