Skip to content

रवि लामिछानेको मुद्दा फिर्ता गरेका न्यायाधीशलाई ४ दिनका लागि उच्च अदालतमा नियुक्ति

काठमाडौं – अवकाश पाउन चार दिन मात्र बाँकी रहेका जिल्ला न्यायाधीश हिमाल बेलबासेलाई न्याय परिषद्ले उच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ । बेलबासे असोज ४ गते ६३ वर्ष उमेर पूरा गरी अनिवार्य अवकाशमा जाँदै छन्। मंगलबार बसेको परिषद् बैठकले बेलबासेसहित उच्च अदालतका तीन र जिल्ला अदालतका एक न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो । उच्च अदालतको न्यायाधीश बन्न पाँच वर्ष जिल्ला न्यायाधीशका रूपमा काम गरेको योग्यता पुगे पनि बेलबासेलाई लामो समयसम्म नियुक्त नगरिएको र अहिले अवकाशको चार दिनअघि सिफारिस गरिएको भन्दै न्याय क्षेत्रमा प्रश्न उठेको छ ।

बेलबासे वरिष्ठताको सूचीमा १३औँ स्थानमा छन्। उनी २०५२ सालमा न्याय सेवामा प्रवेश गरी २०७० सालमा जिल्ला न्यायाधीश बनेका थिए । यसैबीच, बेलबासेको सिफारिसलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा उनले गरेको आदेशसँग जोडेर पनि प्रश्न उठाइएको छ। गत जेठ ८ गते बेलबासेको इजलासले लामिछानेविरुद्धको सहकारी ठगी अभियोग कायम राख्दै संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग हटाउन आदेश दिएको थियो । परिषद्ले भने बेलबासेलाई उच्च अदालतमा सिफारिस गर्नुको आधार र कारण सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्