काठमाडौँ – नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई १५औँ महाधिवेशनको कार्यतालिका केही समय सारेर पूर्वसभापति शेरबहादुर देउवासहित अग्रज नेताहरूसँग तत्काल संवाद थाल्न आग्रह गरेका छन् । खड्काले सामाजिक सञ्जालमार्फत थापालाई सम्बोधन गर्दै पार्टीको सम्पूर्ण एकताका लागि आफूले गम्भीर आत्मसमीक्षा गरेर निर्णायक कदम चाल्न आग्रह गरेका हुन् । उनले असोज ३ गतेदेखि सुरु गर्ने घोषणा गरिएको १५औँ महाधिवेशनको कार्यतालिका केही समयका लागि स्थगित गर्न पहिलो सुझाव दिएका छन् ।
त्यसपछि १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा र अग्रज नेताहरूसँग थापाले आफ्नै अग्रसरतामा वार्ता तथा संवाद सुरु गर्नुपर्ने खड्काको सुझाव छ । ‘पार्टीको सम्पूर्ण एकता अझै सम्भव छ’ भन्ने विश्वास व्यक्त गर्दै खड्काले संवादबाट कांग्रेसलाई एकताबद्ध बनाउन सकिने बताएका छन् । खड्काले दुईवटा अलग–अलग महाधिवेशन रोक्न नसकिए कांग्रेस विभाजनको अवस्था आउनसक्ने आशङ्कासमेत व्यक्त गरेका छन् । त्यसपछि अन्य प्रमुख राजनीतिक दलमा समेत विभाजन हुनसक्ने र मुलुकमा जातीय, क्षेत्रीय तथा धार्मिक द्वन्द्वको अवस्था सिर्जना हुन सक्ने उनले आफ्नो विश्लेषणका रूपमा उल्लेख गरेका छन् । उनले यस्तो अवस्था आएमा राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता र राष्ट्रिय स्वाभिमानमा समेत गम्भीर असर पर्नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
खड्काले थापालाई विगतका घटनाक्रम र आफूले पाएका सल्लाह-सुझावलाई गम्भीर शिक्षाका रूपमा लिएर ‘तत्काल निर्णायक र साहसिक कदम चाल्न’ आग्रह गरेका छन् । ‘सम्पूर्ण एकताको सिंगो कांग्रेसको सभापति बन्नुस्’ भन्दै उनले पार्टी एकताका लागि आफू कुनै पनि महत्वाकाङ्क्षाबाट मुक्त भएर त्याग गर्न तयार रहेको बताएका छन् । आफ्ना विश्लेषण र आशङ्का गलत साबित भए आफू सबैभन्दा खुसी हुने पनि खड्काले स्पष्ट पारेका छन् । कांग्रेसभित्र १५औँ महाधिवेशनलाई लिएर संस्थापन र पूर्वसभापति शेरबहादुर देउवा पक्षबीच फरक–फरक तयारी भइरहेका बेला खड्काको यस्तो धारणा आएको हो । पछिल्ला दिनमा सभापति थापाले पनि पार्टीभित्रको विवाद समाधानका लागि खड्का र नेता शेखर कोइरालासँग संवाद गरेका छन् ।
खड्काकाे भनाइ जस्ताकाे तस्तै
विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसका सभापति गगन थापाजीलाई मेरो विशेष आग्रह अनि मेरो सुझाव !
तपाईं आज जुन निर्णयमा पुग्नुभयो, त्यो निर्णय वैशाख २१ गतेको हामीबीच भएको संवादपछि त्यही महिनामा निर्णय गर्नुभएको भए, जेठको पहिलो साताभित्र सिङ्गो कांग्रेस तपाईंको नेतृत्वमा सानेपा पार्टी केन्द्रीय कार्यालयमा सम्पूर्ण रूपमा एकताबद्ध भएर जुरुक्क उभिन्थ्यो, देशभरि मात्र होइन, संसारभरि रहनुभएका नेपाली कांग्रेसका नेता, सदस्य, शुभचिन्तक सबैमा कति ठूलो उत्साह, हौसला र पार्टी निर्माणका लागि कति ठूलो ऊर्जा सिर्जना हुन्थ्यो होला ?
गम्भीर रूपमा आत्मसमीक्षा गर्दै एकपटक पुनः घोत्लिनुस् !
समय बलवान् हुन्छ–‘पुनः कठोर सङ्कल्प गर्नुस्।’
१– असोज ३ गतेदेखि प्रारम्भ गर्ने गरी घोषणा गरेको १५औँ अधिवेशनको कार्यतालिका स्थगन गरी केही समयका लागि सार्नुस् !
२– तपाईंले पार्टीमा आज गर्नुभएको निर्णयको बलियो जगमा पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति आदरणीय शीर्षनेता शेरबहादुर देउवाजी अनि अग्रज नेताहरूसँग आफ्नै अग्रसरतामा वार्ता–संवाद तत्काल प्रारम्भ गर्नुस्, मलाई आत्मविश्वास छ पार्टीको सम्पूर्ण एकता अझै सम्भव छ !
अन्यथा दुईवटा अलग–अलग अधिवेशन रोकिएन भने कांग्रेस पार्टीको विभाजन कसैले रोक्न सक्ने छैन।
मेरो अन्तरमनले भन्छ, कांग्रेस पार्टीको विभाजनको केही महिनाभित्र नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीलगायत विशेषगरी संविधान निर्माणमा महत्वपूर्ण भूमिका रहेका दलहरू विभाजन हुने छन्–गरिने छन्।
परिणामतः विगतका घटनाक्रम, लक्षणहरू र विविध खालका चलखेलले संकेत गर्दै छन्–किन हो किन हो ? मेरो अन्तरआत्माले भनिरहेको छ–देशमा जातीय, क्षेत्रीय र धार्मिक द्वन्द्वको अकल्पनीय रणसङ्ग्राम मच्चिने छ–मच्चाइने छ र हाम्रो प्यारो देश भाद्र २४ लाई पनि बिर्साउने गरी भीषण रणसङ्ग्रामको दुष्चक्रमा परिणत हुने प्रबल–प्रबल सम्भावनातिर उन्मुख देखिन्छ। त्यसपछि हाम्रो देशको राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता अनि स्वाभिमानको के होला ???????
त्यसैले गगनजी 🙏 म विश्वासका साथ भन्छु, कानुन, अदालतको निर्णय, पार्टी विधान कुनै कुराले तपाईंलाई कुनै समस्या र अप्ठ्यारो पर्ने छैन–पर्दैन, ढुक्क हुनुस् !
तपाईंले व्यहोरेका सल्लाह, सुझाव र विगतका घटनाक्रमलाई गहिरो शिक्षाका रूपमा निर्मम समीक्षा गर्दै,
तत्काल निर्णायक र साहसिक कदम चाल्नुस् अनि
सम्पूर्ण एकताको सिङ्गो कांग्रेसको सभापति बन्नुस् !
यो पुण्य कर्ममा म कुनै पनि महत्वाकाङ्क्षाबाट मुक्त भएर जस्तोसुकै त्याग गर्न तयार छु,
इमानको सहयोग गर्न तयार छु
(मेरा माथिका विश्लेषण र अन्तरआत्माको आवाजबाट प्रेरित भनाइहरू गलत साबित हुँदा सबैभन्दा खुसी म हुनेछु, यो पनि सम्बन्धित सबैमा प्रस्ट पार्दछु ।)



प्रतिक्रिया दिनुहोस्