Skip to content

फागुन अन्तिम सातासम्म स्थानीय तह निर्वाचन गराउने गरि आयोगले तयारी थाल्यो

काठमाडौं – निर्वाचन आयोगले आगामी फागुन अन्तिम सातासम्म स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने गरी तयारी अघि बढाएको छ । आयोगले कानुनी व्यवस्थाअनुसार निर्वाचनको तयारीलाई तीव्रता दिएको जनाएको छ । निर्वाचन आयोगका आयुक्त राजीव सुब्बाका अनुसार स्थानीय तहका वर्तमान जनप्रतिनिधिको कार्यकाल सकिनुभन्दा दुई महिनाअघि नै निर्वाचन सम्पन्न गर्नुपर्ने कानुनी व्यवस्था रहेकाले आयोग सोहीअनुसार अघि बढिरहेको हो । आयोगले हाल मतदाता नामावली अध्यावधिकको काम गरिरहेको छ। मतदाता नामावली वर्षमा दुई पटक अध्यावधिक गर्ने व्यवस्था रहेकाले आगामी निर्वाचनलाई लक्षित गरी आवश्यक प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ । फागुनमा स्थानीय तहको निर्वाचन हुने अवस्था बनेमा माघमा पुनः मतदाता नामावली अध्यावधिक गरी अन्तिम नामावली प्रकाशन गर्ने तयारी आयोगको छ। निर्वाचनको मिति भने सरकारले तोकेपछि आयोगले औपचारिक रूपमा निर्वाचन प्रक्रिया अघि बढाउनेछ ।

के छ कानुनी व्यवस्था ?

स्थानीय तह निर्वाचन ऐन, २०७३ को परिच्छेद–२ मा गाउँसभा वा नगरसभाका सदस्यको निर्वाचन गाउँसभा वा नगरसभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि गर्नुपर्ने व्यवस्था छ । संविधानअनुसार स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको कार्यकाल पाँच वर्षको हुन्छ। यसअघि २०७९ वैशाख ३० गते देशभर एकै चरणमा स्थानीय तहको निर्वाचन भएको थियो । सो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकाललाई आधार मान्दा आगामी स्थानीय तहको निर्वाचन फागुन अन्तिम सातासम्म सम्पन्न गर्नुपर्ने अवस्था देखिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्