काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले वर्तमान सरकार विद्यमान संविधानको अक्षर र भावनाप्रति पूर्णरूपमा प्रतिबद्ध रहेको बताएका छन् । संविधान दिवसका अवसरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले संविधानको प्रभावकारी कार्यान्वयनका लागि राज्य सञ्चालन गर्ने व्यक्तिहरू इमानदार र निरन्तर क्रियाशील हुनुपर्नेमा जोड दिए । ‘यो संविधानको अक्षर र भावना दुवैप्रति यो सरकार पूर्णरूपमा प्रतिबद्ध छ,’ उनले भने ।
प्रधानमन्त्री बालेनले संविधान जति राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने हातहरू इमानदार र सक्रिय नभए संविधान कागजमा सीमित हुने बताए । ‘एउटा कुरा हामीले कहिल्यै बिर्सनुहुँदैन । संविधान जति राम्रो भए पनि त्यसलाई चलाउने हात इमानदार र अनवरत क्रियाशील भएनन् भने त्यो एउटा कागज मात्रै बन्नेछ,’ उनले भने । उनले वर्तमान सरकारले सुशासन कायम गर्न तथा भ्रष्टाचार नियन्त्रणका लागि काम गरिरहेको दाबी गरे । भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो भए पनि त्यसलाई उखेल्ने प्रयासमा सरकार दृढ रहेको उनको भनाइ छ । ‘म प्रष्ट भन्छु– यो सुरुवात हो, अन्त्य होइन । भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो छ तर यो जरो उखेल्ने हातहरू बलिया छन् । झन् धेरै छन्,’ प्रधानमन्त्री बालेनले भने । विकासका लागि सुशासन अनिवार्य पूर्वसर्त भएको उल्लेख गर्दै उनले सरकार यस विषयमा सचेत रहेको बताए । उनका अनुसार सरकारले सुशासन कायम गर्न प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण गर्ने तथा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्