Skip to content

एमाले सचिवालय र पुनर्गठन कार्यदल बैठक बस्दै, प्रदीप ज्ञवालीको छुट्टै प्रतिवेदन तयार

काठमाडौं – नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको सचिवालय बैठक आज बस्दै छ । एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार कार्यदलको बैठक आइतबार बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्ने छ । पुनर्गठन विवादमा पार्टी नेतृत्वबीच सहमति जुट्न नसकेपछि त्यसमा सहमित जुटाएर एउटै प्रतिवेदन तयार पार्नका लागि बैठक आह्वान गरिएको छ । आजको कार्यदलको बैठकमा पेस गर्नका लागि एमाले नेता प्रदीप ज्ञवालीले छुट्टै प्रतिवेदन तयार पारेका छन् । अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा कार्यदलमै नरहेका नेता ज्ञवालीले प्रतिवेदन तयार पारेका हुन् ।

कार्यदल बैठकका लागि भनेर ज्ञवालीले २९ पृष्ठको प्रतिवेदन तयार गरी शनिबार नै पठाइसकेका छन् । कार्यदलको बैठकपछि केन्द्रीय सचिवालयको बैठक आजै दिउँसो १ बजे च्यासलमै बस्ने आचार्यले बताए । सचिवालय बैठकले भोलि ५ असोजदेखि सुरु हुने केन्द्रीय कमिटीको बैठकमा पेस गर्ने एजेन्डा तय गर्ने उनको भनाइ छ । भोलिदेखि सुरु हुने केन्द्रीय कमिटीको बैठक ७ असोजसम्म बस्ने तालिका छ । उनका अनुसार केन्द्रीय कमिटीको बैठक ललितपुरस्थित रामबाग महल, भनिमण्डलमा बस्ने आचार्यले बताए । २१ फागुनको निर्वाचनमा नराम्रो नतिजा आएपछि एमालेभित्र पुनर्गठनको बहस उठेको थियो । यो बहसलाई विगतमा अध्यक्ष केपी शर्मा ओलीसँग निकट रहेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले नै तीव्र पारेका थिए ।

पार्टीको सचिवालयस्तरकै नेताले बहस थालेपछि त्यसबारे छलफल गर्न उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल गठन भएको थियो । उक्त कार्यदलले सातै प्रदेशमा पुगेर नेताकार्यकर्ताको धारणा सुनेर आएको थियो । त्यसपछि महासचिव पोखरेलले तयार पारेको प्रतिवेदनमा अध्यक्ष ओलीले पद छाडेर नेतृत्व हस्तान्तरण गर्नुपर्ने समीक्षा गरिएको छ । त्यसमा असन्तुष्ट बनेका अध्यक्ष ओलीको निर्देशनअनुसार कार्यदल संयोजक बादललाई अर्को प्रतिवेदन तयार पार्न भनेका थिए । जसमा ओलीले नेतृत्व छाड्न नहुने समीक्षा गरिएको छ । त्यसपछि दुवै प्रतिवेदनलाई समायोजन कार्यदलमा भएको प्रयासमा सहमति जुटेको थिएन । सहमति नजुटे पनि ओलीले नेता प्रदीप ज्ञवालीलाई अर्को प्रतिवेदन तयार पार्न निर्देशन दिएका थिए । त्यो प्रतिवेदन शनिबार तयार भइसकेको छ । त्यसमा पुनर्गठन पक्षधरले चित्त नबुझाएको एमाले स्रोत बताउँछ । यसरी यो विषय नेतृत्व तहमा विवादित हुँदै केन्द्रीय कमिटीसम्म पुग्ने देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्