Skip to content

गगन नेतृत्वको कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

काठमाडौँ – नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सभापति गगनकुमार थापा नेतृत्वमा भइरहेको कांग्रेसको महाधिवेशनमा आफू सहभागी नहुने स्पष्ट पारेका छन् । पछिल्लो समय सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आफ्नो भूमिकालाई लिएर भइरहेका टिप्पणीको खण्डन गर्दै खड्काले आफू महाधिवेशन प्रक्रियाबाट अलग रहनुको कारण सार्वजनिक गरेका हुन् । उनले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको वैधानिकतामाथि आफूहरूले सर्वोच्च अदालतमा प्रश्न उठाउँदै आएको उल्लेख गरेका छन् ।

खड्काका अनुसार विशेष महाधिवेशन र त्यसबाट निर्वाचित सभापति तथा कार्यसमिति पार्टीको विधान, राजनीतिक दलसम्बन्धी ऐन तथा सर्वोच्च अदालतले विगतमा प्रतिपादन गरेका नजिरविपरीत रहेको उनीहरूको दाबी छ । यस्तो अवस्थामा सभापति गगन थापाको हस्ताक्षर भएको टिकटबाट निर्वाचन लड्नु र अहिलेको महाधिवेशनमा सहभागी हुनु आफ्नो नैतिक मूल्य र मान्यताविपरीत हुने उनको भनाइ छ । गत प्रतिनिधिसभा निर्वाचनमा पनि यही कारण आफू उम्मेदवार नबनेको स्मरण गर्दै खड्काले अहिले पुनः त्यस्तै परिस्थिति सिर्जना भएकाले महाधिवेशनमा सहभागी नहुने निर्णय लिएको बताएका छन् । यसअघि पनि उनले विशेष महाधिवेशनबाट आएको नेतृत्वको वैधानिकताविरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकनको प्रक्रिया अघि बढाएका थिए ।

खड्काले सर्वोच्च अदालतको डिभिजन बेन्चको निर्णयविरुद्ध आफूहरू पुनरावलोकनमा गएको र पूर्ण इजलासले मुद्दाको गम्भीरता बुझेर पुनरावलोकनको निस्सा दिएको उल्लेख गरेका छन् । तर महाधिवेशन रोक्न अन्तरिम आदेश जारी नभएपछि आफू दुःखी भएको उनले बताएका छन् । उनका अनुसार यस्तो अवस्थामा कांग्रेसमा दुईवटा महाधिवेशन हुने र त्यसले पार्टी विभाजनको अवस्था निम्त्याउने जोखिम बढेको छ । खड्काले यसअघि पनि दुईवटा महाधिवेशन रोक्न र पार्टी एकताका लागि संवाद अघि बढाउन सभापति गगन थापालाई आग्रह गरेका थिए ।

‘यदि कुनै चमत्कार भएन भने पार्टी विभाजन निश्चित छ, तैपनि हामी त्यसलाई रोक्न अन्तिम प्रयास गरिरहेका छौँ,’ खड्काले बताएका छन् । उनले सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा न्यायाधीशहरूसमक्ष पार्टीको वैधानिकतासँग जोडिएको पुनरावलोकन मुद्दालाई परिस्थितिको गम्भीरता बुझेर अग्राधिकार दिई यथाशीघ्र अन्तिम फैसला गर्न आग्रह गरेका छन् ।खड्काले अहिलेको अवस्थामा महाधिवेशन प्रक्रियामा सहभागी हुनु आफूले चरम अनैतिक कार्यका रूपमा लिएको भन्दै आफू उक्त प्रक्रियाबाट पूर्ण रूपमा अलग रहेको पुनः स्पष्ट पारेका छन् । पछिल्लो समय खड्का स्वयं महाधिवेशनमा सहभागी नहुने भए पनि उनीनिकट केही नेताहरू भने थापा नेतृत्वको महाधिवेशनमा सहभागी हुने वातावरण बनेको समाचारहरू सार्वजनिक भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्