Skip to content

‘हामीले गरेका वाचामध्ये ८० प्रतिशतभन्दा बढी काम सम्पन्न गरेका छौँ’ : अध्यक्ष बोहरा (भिडियो सहित)

काठमाडौं – अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहराले आफू निर्वाचित भएर आएपछि जनतासँग गरेका वाचामध्ये ८० प्रतिशतभन्दा बढी काम सम्पन्न गरेको दाबी गरेका छन् । पाँच वर्षे कार्यकाल सकिनै लाग्दा‘सहपाटी संवाद’मा कुरा गर्दै अध्यक्ष बोहराले पालिकाको योजनाबद्ध विकासका लागि पाँच वर्षे आवधिक योजना बनाएर काम अघि बढाइएको बताए । आवधिक योजनाले लिएका लक्ष्य पूरा गर्ने दिशामा पालिका अघि बढिरहेको उनको भनाइ छ ।  उनका अनुसार पालिका गौरवका आयोजनामध्ये करिब ८० प्रतिशत निर्माण सम्पन्न हुने चरणमा छन्। अपिहिमाललाई प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बनाउने अभियान सुरु गरिएको र त्यसमा सफलता प्राप्त भएको उनले बताए ।

अध्यक्ष बोहराले पर्यटनलाई पालिकाको विकासको मुख्य आधार बनाएर शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद तथा मनोरञ्जन र चलचित्र क्षेत्रलाई समेत पर्यटनसँग जोड्ने अभियान सञ्चालन गरिएको बताए । यसका अलावा साहित्य, योग–ध्यान तथा धार्मिक पर्यटनलाई समेत पर्यटनसँग जोडेर समग्र क्षेत्रको विकास गर्ने योजना रहेको उनको भनाइ छ । दुर्गम क्षेत्रमा सीमित जनसंख्या, कमजोर पूर्वाधार र ठूला उद्योग तथा व्यापारिक केन्द्र सञ्चालनका लागि पर्याप्त सम्भावना नरहेको भन्दै बोहराले स्थानीय आर्थिक विकासका लागि पर्यटन नै महत्वपूर्ण आधार बन्न सक्ने बताए । ‘दुर्गम ठाउँमा छुट्टै आर्थिक क्षेत्र निर्माण गर्न सकिने सम्भावना छैन । ठूला उद्योगधन्दा सञ्चालन गर्ने सम्भावना पनि न्यून छ। त्यसैले पर्यटन क्षेत्रलाई मुख्य आधार बनाएर रोजगारी सिर्जना र स्थानीयको आर्थिक उपार्जन बढाउने अभियानमा हामी लागेका छौँ,’ उनले भने ।

अध्यक्ष बोहराले आफ्नो कार्यकालमा पालिका केन्द्रसम्म सडक पुर्‍याउने काम अघि बढिरहेको, वडा कार्यालयसम्म सडक पुर्‍याउने अभियान अन्तिम चरणमा पुगेको तथा सबै बस्तीमा विद्युतीकरण गर्ने लक्ष्य पनि कार्यकालभित्रै पूरा गर्ने तयारी रहेको बताए । उनका अनुसार गाउँपालिकाका सबै वडामा इन्टरनेट सेवा पुर्‍याइएको छ । खानेपानीतर्फ ‘एक घर एक धारा’ कार्यक्रम सम्पन्न भइसकेको, विद्यालय पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको तथा स्वास्थ्यतर्फका पूर्वाधार निर्माण सम्पन्न भएको उनले जानकारी दिए । अस्पताल निर्माणसमेत सम्पन्न भइसकेको उनको भनाइ छ । ‘हामीले वाचा गरेका कामहरूमध्ये झन्डै ८० प्रतिशतभन्दा बढी काम सम्पन्न गरेका छौँ । बाँकी काम पनि पूरा गर्ने प्रक्रियामा छौँ,’ बोहराले भने । आफ्नो नेतृत्वमा गाउँपालिकामा पूर्वाधार, सामाजिक तथा आर्थिक विकाससँगै पर्यटन क्षेत्रमा समेत उल्लेख्य काम भएको उनको दाबी छ । पालिकाका कामप्रति आफू सन्तुष्ट रहेको बताउँदै उनले स्थानीय नागरिकसमेत विकासका कामप्रति सकारात्मक रहेको बताए ।

‘सबैलाई सन्तुष्ट पार्ने मेकानिजम हुँदैन । तर पूर्वाधार, स्थानीय विकास, सामाजिक तथा आर्थिक विकास र पर्यटन क्षेत्रको विकासलाई हेर्दा सन्तुष्ट हुन सक्ने ठाउँ छ,’ उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्