Skip to content

पत्रकारहरुलाई एक ठाउँ बोलाएर एमाले अध्यक्ष ओलीले भने – प्रश्न सोध्नुअघि अनुमति लिनुपर्छ, मुखमा माइक नघोच्नुस्

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारहरूले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा एमाले निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले प्रश्न सोध्नुअघि सम्बन्धित व्यक्तिसँग अनुमति लिनुपर्ने र भनाइ प्रकाशित गर्नुअघि समेत जानकारी गराउनुपर्ने बताएका हुन् । ओलीले अन्तर्राष्ट्रिय पत्रकारिताको अभ्यासमा पत्रकारले कुनै व्यक्तिसँग प्रश्न गर्नुअघि प्रश्न गर्न मिल्छ कि मिल्दैन भनेर अनुमति लिने तथा अन्तर्वार्ता वा भनाइ प्रकाशित गर्नुअघि पनि सम्बन्धित व्यक्तिलाई त्यसबारे जानकारी गराउने अभ्यास रहेको दाबी गरे । उनले भने, ‘दुनियाँभरि पत्रकारिताको के नियम हुन्छ भने तपाईंसँग प्रश्न सोध्न सकिन्छ भनेर अगाडि सोधिन्छ । प्रश्न सोधेपछि त्यसलाई प्रकाशित गर्नुभन्दा अगाडि तपाईंले भन्नुभएको कुरा हामी प्रकाशित गर्दैछौँ, गरौँ ? भनेर सोध्छ।’ ओलीले सञ्चारकर्मीहरूलाई अनुमति नलिई माइक अगाडि ल्याएर प्रश्न नगर्न आग्रह गरे। उनले पत्रकारितामा मर्यादा र अभ्यासको पालना गर्नुपर्नेमा जोड दिँदै भने, ‘तपाईंहरू ल्याएर थुतुनो घोचेर, मुखमा घोचेर त्यस्तो नगर्नुहोस् । त्यस्तो नगर्नुहोस् ।’

प्रतिक्रिया दिनुहोस्