महोत्तरी – नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो प्रदेश अधिवेशनबाट प्रभुलाल कुशवाहाको अध्यक्षतामा २० सदस्यीय नयाँ प्रदेश कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको छ । महोत्तरीको बर्दिबासस्थित होटल नाब्या प्रालिमा आश्विन ३ र ४ गते आयोजित अधिवेशन उत्साहपूर्ण, सौहार्दपूर्ण तथा मर्यादित वातावरणमा सम्पन्न भएको हो । अधिवेशन मधेस प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुमार सिंहको प्रमुख आतिथ्यता, नेसनल प्याब्सनका राष्ट्रिय अध्यक्ष तथा संविधानसभा सदस्य गीता राणा क्षेत्रीको विशेष आतिथ्यता र नेसनल प्याब्सन मधेस प्रदेशका अध्यक्ष डा. नन्दन यादवको सभापतित्वमा सम्पन्न भएको थियो ।
अधिवेशनमा अधिवेशन संयोजक तथा निवर्तमान केन्द्रीय अध्यक्ष पाण्डव हमाल ठकुरी, पूर्व अध्यक्ष कर्णबहादुर शाही, वरिष्ठ उपाध्यक्ष ब्रजेन्द्र मिश्रा, केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, विभिन्न प्रदेशका अध्यक्ष एवं पदाधिकारीहरू तथा मधेस प्रदेशका आठवटै जिल्लाबाट आएका विद्यालय सञ्चालक र प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । अधिवेशनबाट निर्वाचित २० सदस्यीय कार्यसमितिमा अध्यक्ष प्रभुलाल कुशवाहासहित पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत रूपमा चयन भएका हुन्। कार्यसमितिलाई पूर्णता दिन बाँकी पाँच सदस्य बैठकबाट मनोनित गरिने जनाइएको छ। त्यसपछि मधेस प्रदेशको प्रदेश कार्यसमिति २५ सदस्यीय हुनेछ ।
सर्वसम्मत नेतृत्व चयनलाई संगठनभित्रको एकता, सहकार्य, आपसी विश्वास र साझा उद्देश्यप्रतिको प्रतिबद्धताको महत्वपूर्ण उदाहरणका रूपमा लिइएको छ । नवनिर्वाचित नेतृत्वले निजी तथा संस्थागत विद्यालयहरूको हकहित संरक्षणसँगै शिक्षाको समग्र विकासमा काम गर्ने जनाएको छ। विद्यालय सञ्चालक, शिक्षक, विद्यार्थी तथा अभिभावकका साझा सवाललाई सम्बोधन गर्दै मधेस प्रदेशको शैक्षिक उन्नयनका लागि प्रभावकारी तथा परिणाममुखी कार्यक्रम अघि बढाउने अपेक्षा गरिएको छ । अधिवेशनका प्रमुख निर्वाचन अधिकृत अधिवक्ता नरेन्द्रबहादुर भट्टराईले नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउँदै प्रमाणपत्र वितरण गरेका थिए । उनले निर्वाचन समितिका तर्फबाट नयाँ प्रदेश नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । अधिवेशनले मधेस प्रदेशमा निजी तथा संस्थागत विद्यालय क्षेत्रका साझा समस्या र चुनौती समाधान तथा शैक्षिक विकासका सवालमा थप सहकार्य, समन्वय र एकताका साथ अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस्