काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षाको गतिविधि बढ्ने जनाएको छ। महाशाखाले सोमबार अपराह्न विशेष बुलेटिन जारी गर्दै शुक्रबार (असोज ९) देखि आइतबार (असोज ११) सम्म विभिन्न स्थानमा भारीदेखि धेरै भारी तथा एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने जनाएको हो । महाशाखाका अनुसार उत्तर अण्डमान सागर तथा आसपासमा विकसित न्यूनचापीय क्षेत्र अहिले बंगालको खाडीको मध्य भूभाग आसपास रहेको छ। उक्त प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यूनचापीय क्षेत्रका रूपमा पश्चिमदेखि उत्तरपश्चिम दिशातर्फ सर्ने क्रममा रहेकाले त्यसको प्रभाव नेपालमा पर्ने देखिएको हो ।
महाशाखाले बुधबारदेखि नै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि क्रमशः बढ्दै जाने पूर्वानुमान गरेको छ । असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । त्यस्तै, मधेस, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । भारी वर्षाका कारण भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम बढ्नुका साथै सहरी तथा तराई क्षेत्रमा डुबानको समस्या आउन सक्ने महाशाखाले जनाएको छ। ठूला तथा साना नदी, नाला र खोलामा पानीको सतह बढ्न सक्ने भएकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन तथा नदी आसपासका निर्माण कार्य प्रभावित हुनसक्ने बताइएको छ ।
यस्तै, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन महाशाखाले सर्वसाधारण तथा सम्बन्धित सबै निकायलाई आग्रह गरेको छ । महाशाखाले धानबाली भित्र्याउने समय रहेकाले मौसमको अवस्थालाई ध्यानमा राख्दै कृषि विज्ञको सल्लाह लिन पनि आग्रह गरेको छ। मौसम प्रणालीको प्रभावले देशका हिमाली क्षेत्रमा भारी हिमपात हुनसक्ने भएकाले पर्वतारोही तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन भनिएको छ । यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै सतर्क रहन आग्रह गरेको छ। प्राधिकरणले अत्यन्त जरुरी कामबाहेक टाढाको यात्रा नगर्न तथा रातिको समयमा यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । प्राधिकरणले सम्बन्धित संघीय मन्त्रालय तथा निकाय, प्रदेश सरकार, स्थानीय तह, तीनवटै सुरक्षा निकाय तथा स्वयंसेवकलगायत सरोकारवालालाई आम नागरिकलाई सुसूचित गर्न र सम्भावित विपद्को प्रतिकार्यका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ ।
जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, एक्स्काभेटर, लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्नसमेत प्राधिकरणले सम्बन्धित निकायलाई आग्रह गरेको छ। आकस्मिक बाढी आउनसक्ने खोला तथा खहरे आसपासका बस्ती, पहिरोको जोखिमयुक्त स्थान र नदी–खोला किनारमा बसोबास गर्ने नागरिकलाई विशेष चनाखो रहन प्राधिकरणले अनुरोध गरेको छ । महाशाखाले मौसम प्रणालीको निरन्तर अनुगमन भइरहेको र अवस्था अनुसार नियमित अद्यावधिक सार्वजनिक गर्दै जाने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्