काठमाडौं – त्रिपुरेश्वर–टेकु सडकखण्डअन्तर्गत त्रिपुरेश्वरको पार्किङ वेमा रोकिराखिएको बा.५ ख ४२७४ नम्बरको बसमा भएको आगजनी घटनाको सत्यतथ्य पत्ता लगाउन दुई छुट्टाछुट्टै छानबिन समिति गठन गरिएको छ । घटनाको छानबिनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद गैहेको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ। यस्तै, काठमाडौं उपत्यका प्रहरी कार्यालयले पनि एसएसपी रमेश बस्नेतको नेतृत्वमा पाँच सदस्यीय छुट्टै छानबिन समिति गठन गरेको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार प्रशासनले गठन गरेको समितिलाई घटनाको अनुसन्धान तथा छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ । समितिमा प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक नरेश सिंह, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्ट, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय काठमाडौंका सुरेश केसी, सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका प्रतिनिधि धर्मराज रिमाल, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका प्रतिनिधि भीम ज्वाला राई र रिद्धिसिद्धि यातायात प्रालिका प्रतिनिधि लव केसी सदस्य रहेका छन् । छानबिन समितिले घटनासँग सम्बन्धित तथ्य, प्रमाण तथा सूचना संकलन र विश्लेषण गर्नेछ। घटनास्थल प्रत्यक्ष देखेका तथा घटनाबारे जानकारी भएका व्यक्तिसँग सोधपुछ गर्ने, आसपासका क्षेत्रका सीसीटीभी फुटेज अध्ययन गर्ने र बस पार्किङ वेमा रोकिएको समयदेखि आगजनी भएको समयसम्मको घटनाक्रम तथा समयरेखासमेत विश्लेषण गर्नेछ । उपलब्ध तथ्य, प्रमाण र सूचनाको विश्लेषणका आधारमा बसमा आगजनी के–कसको कारणबाट भएको हो भन्ने सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेश गर्ने जिम्मेवारी समितिलाई दिइएको छ । त्यसैगरी, आगामी दिनमा यस्ता प्रकृतिका घटना दोहोरिन नदिन अपनाउनुपर्ने पूर्वसावधानी तथा नियन्त्रणका उपायसमेत समितिले आफ्नो प्रतिवेदनमार्फत सुझाउनेछ ।



प्रतिक्रिया दिनुहोस्