Skip to content

कांग्रेस नेता चौलागाईंलाई डेढ करोड रुपैयाँ बुझाएको बालिकाको बयान, चौलागाईले भने – लिएको छैन

काठमाडौँ – प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको नाम र पदको दुरुपयोग गर्दै १५६ जनालाई इजरायल पठाइदिने भन्दै करिब २ करोड ५० लाख रुपैयाँ असुल गरेको आरोपमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि भरत चौलागाईं र पत्रकार बालिका सिवाकोटी सीआईबीको हिरासतमा छन् । इजरायलमा केयर गिभरको रोजगारीका लागि पठाइदिने भन्दै उनीहरूले लक्की ड्रमा छनोट हुन नसकेका व्यक्तिहरूबाट रकम उठाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार आरोपीहरूले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनमार्फत मन्त्रिपरिषद्बाट निर्णय गराएर इजरायल पठाउने भन्दै पीडितहरूलाई विश्वासमा पारेका थिए । त्यसपछि पीडितहरूबाट रकम उठाइएको थियो ।

अनुसन्धानका क्रममा सिवाकोटीले आफूले संकलन गरेको रकममध्ये १ करोड ५० लाख रुपैयाँ चौलागाईंलाई गौशालामा भेटेर नगद बुझाएको बयान दिएको प्रहरीले जनाएको छ । तर चौलागाईंले आफूले ठगीको रकम नलिएको दाबी गर्दै सिवाकोटीसँग जग्गाको कारोबारका क्रममा ऋणबापत केही रकम लिएको बताएका छन् । काम अघि नबढेपछि पीडितहरूले सिवाकोटीलाई नियन्त्रणमा लिएर काठमाडौँ नजिकैको एक रिसोर्टमा राखेकोसमेत अनुसन्धानबाट खुलेको छ । त्यसपछि सिवाकोटीले चौलागाईंलाई सम्पर्क गरी प्रक्रिया छिटो अघि बढाउन आग्रह गरेकी थिइन् ।

त्यसक्रममा चौलागाईंले ‘कुमार बेनसँग कुरा गरेको छु, काम चाँडै हुन्छ’ भनेको अडियोसमेत पीडितहरूले सीआईबीलाई बुझाएका छन् । रामेछापको सुनापति गाउँपालिका–१ घर भएका चौलागाईंलाई असोज १ गते मन्थलीबाट पक्राउ गरिएको थियो । उनी कांग्रेसको १५औँ महाधिवेशनका लागि रामेछाप जिल्ला सभापतिका दाबेदारसमेत हुन् । दोलखाको कालिञ्चोक गाउँपालिका–८ घर भएकी ३२ वर्षीया सिवाकोटी पनि यही प्रकरणमा पक्राउ परेकी हुन् । सीआईबीका सूचना अधिकारी एसएसपी अनुपम शमशेर जबराका अनुसार दुवै जनालाई काठमाडौँ जिल्ला अदालतबाट दोस्रो पटक सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ । ‘बयानलगायतका काम हुँदैछ । अनुसन्धान टुंगिएको अवस्था छैन,’ एसएसपी जबराले भने ।

 

प्रतिक्रिया दिनुहोस्