Skip to content

सङ्घीय संसद्का दुवै सदन र पाँच संसदीय समितिको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । त्यसैगरी संसद्अन्तर्गतका विभिन्न पाँच वटा विषयगत समितिका बैठकहरू पनि आजै बोलाइएका छन् । सिंहदरबारमा बिहान ११ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा दुई वटा नयाँ विधेयकसम्बन्धी कार्यसूची तय गरिएको छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । यस्तै, बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यता, राष्ट्रियसभाको बैठक भने अपराह्न १ः१५ बजेका लागि बोलाइएको छ । आजको बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको बेहोरा पढेर जानकारी गराउनेछन् । त्यसलगत्तै बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची तय भएको छ । राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लोक सेवा आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यक्रम छ । साथै, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘विकास, आर्थिक मामिला तथा सुशासन समितिको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन’ सभामा प्रस्तुत गर्नेछन् ।

यस्तै आजै विभिन्न पाँच वटा संसदीय समितिका बैठकहरू समेत बस्दै छन् । निर्धारित कार्यक्रमअनुसार कृषि तथा प्राकृतिक स्रोत समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ ।

प्रतिक्रिया दिनुहोस्