काठमाडौँ – अपिहिमाल गाउँपालिका दार्चुलाले स्वास्थ्य सेवालाई पर्यटनसँग जोड्दै ‘हेल्थ टुरिजम’ कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाएको छ । गाउँपालिकाले आधारभूत स्वास्थ्य सेवाको विस्तारसँगै विशेषज्ञ स्वास्थ्य सेवा र डिजिटल स्वास्थ्य सेवामा समेत जोड दिएको जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहराका अनुसार अपिहिमालका ६ वटै वडामा आधारभूत स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टर सञ्चालनमा छन् । यी स्वास्थ्य संस्थाले विशेषगरी मातृ तथा शिशु स्वास्थ्य सेवामा महत्वपूर्ण सहयोग पुर्याइरहेको उनले बताए ।गाउँपालिकाले १० शय्याको आधारभूत अस्पतालको निर्माणसमेत सम्पन्न गरिसकेको छ । अस्पताललाई छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको अध्यक्ष बोहराले जानकारी दिए । अस्पताल सञ्चालनमा आएपछि स्थानीय नागरिकले गाउँमै थप व्यवस्थित स्वास्थ्य सेवा प्राप्त गर्ने उनको भनाइ छ । त्यस्तै, गाउँपालिकाले घरदैलोमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नियमित रूपमा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । यस्ता शिविरमार्फत स्वास्थ्य परीक्षण, स्क्यानिङलगायतका सेवा प्रदान गरिँदै आएको अध्यक्ष बोहराले बताए ।
स्वास्थ्य सेवालाई पर्यटनसँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको ‘हेल्थ टुरिजम’ कार्यक्रमअन्तर्गत काठमाडौं र धनगढीबाट विशेषज्ञ चिकित्सकलाई गाउँमै बोलाएर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने गरिएको उनले बताए । शिविरमार्फत आँखाको निःशुल्क शल्यक्रियादेखि नाक, कान, घाँटी, दाँत, महिला रोगलगायत विभिन्न विशेषज्ञ सेवा स्थानीयस्तरमै उपलब्ध गराइँदै आएको छ । “विशेषज्ञ स्वास्थ्य सेवा नियमित नभए पनि मौसमी रूपमा भए पनि जनताले प्राप्त गर्ने अवस्था बनेको छ,” अध्यक्ष बोहराले भने । अपिहिमाल गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा डिजिटल प्रविधिको प्रयोगसमेत सुरु गरेको छ । ‘डिजिटल हेल्थ’ कार्यक्रमअन्तर्गत भिडियो कन्फरेन्समार्फत काठमाडौंमा रहेका विशेषज्ञ चिकित्सकसँग स्थानीय स्वास्थ्य संस्थामै बसेर बिरामीले परामर्श लिन सक्ने व्यवस्था गरिएको अध्यक्ष बोहराले जानकारी दिए । हाल दुईवटा स्वास्थ्य संस्थाबाट डिजिटल स्वास्थ्य सेवा सञ्चालन भइरहेको र चालु आर्थिक वर्षमा थप विस्तार गरी तीनवटा स्वास्थ्य संस्थामा ‘स्मार्ट हेल्थ’ कार्यक्रम लागू गर्ने तयारी भइरहेको उनले बताए ।
बोहराका अनुसार बिरामी वा नागरिकले आवश्यकता महसुस गरेमा विशेषज्ञ चिकित्सकसँग भिडियो कन्फरेन्समार्फत प्रत्यक्ष परामर्श लिन सक्ने व्यवस्था मिलाइँदैछ । दुर्गम क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न डिजिटल स्वास्थ्य प्रविधिले महत्वपूर्ण भूमिका खेल्ने गाउँपालिकाको अपेक्षा छ । अध्यक्ष बोहराले स्थानीय तहको संवैधानिक दायित्वअनुसार नागरिकलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने कामलाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताए । “स्वास्थ्य क्षेत्रमा हाम्रा जनतालाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने संवैधानिक दायित्व हामीले निर्वाह गरेका छौँ,” उनले भने ।



प्रतिक्रिया दिनुहोस्