Skip to content

कांग्रेसको समानान्तर महाधिवेशन : इतर समूहले सबै तहमा जेनजी प्रतिनिधित्व अनिवार्य गर्ने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको समानान्तर तयारी गरिरहेको संस्थापन इतर समूहले पार्टीका सबै तहका कार्यसमितिमा १८ देखि २८ वर्ष उमेर समूहका नवयुवाको अनिवार्य प्रतिनिधित्व गराउने भएको छ । पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा गठित १५औँ केन्द्रीय महाधिवेशन तयारी समिति र एकराज पोख्रेल संयोजक रहेको केन्द्रीय निर्वाचन समितिले महाधिवेशनको तयारी अघि बढाइरहेका छन् । निर्वाचन समितिले तयार गरिरहेको ‘१५औँ महाधिवेशन निर्वाचन निर्देशिका’मा केन्द्रदेखि वडा तहसम्मका कार्यसमितिमा नवयुवाको प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था प्रस्ताव गरिएको हो । निर्देशिकाअनुसार निर्वाचित हुने सबै तहका कार्यसमितिमा १८ देखि २८ वर्ष उमेर समूहका एक महिला र एक पुरुषलाई अनिवार्य रूपमा समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै, समावेशी समूहअन्तर्गत निर्वाचित हुने प्रतिनिधिहरूमा समेत १८ देखि २८ वर्ष उमेर समूहका एक महिला र एक पुरुष नवयुवालाई समावेश गर्नुपर्ने प्रावधान राखिएको छ । निर्देशिका निर्माणमा संलग्न स्रोतका अनुसार कुनै स्थानमा १८ देखि २८ वर्ष उमेर समूहका नवयुवा उपलब्ध नभई पद रिक्त भएमा अन्य उमेर समूह वा अन्य समूहबाट पदपूर्ति गर्न सकिने व्यवस्था पनि गरिएको छ । निर्वाचन निर्देशिकामा विषयविज्ञ आवश्यक पर्ने स्थानमा विषयविज्ञको उपस्थिति सुनिश्चित गर्ने प्रावधानसमेत राखिएको बताइएको छ। निर्देशिकालाई शनिबार अन्तिम रूप दिने तयारी भइरहेको स्रोतले जनाएको छ । कांग्रेसको विधानअनुसार केन्द्रीय, प्रदेश, जिल्ला, प्रदेशसभा, प्रतिनिधिसभा, गाउँ–नगर, वडा र टोल गरी विभिन्न तहका कार्यसमिति रहने व्यवस्था छ। हाल टोलबाहेक छ तहमा कार्यसमिति रहने अवस्था छ । यसैबीच, १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक भएको दाबी गर्दै पूर्वसभापति शेरबहादुर देउवा पक्षले इतर समूहले अघि बढाएको महाधिवेशन प्रक्रियामा सहभागिता जनाएको छैन । इतर समूहले २१ देखि २३ मंसिरमा काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ। उक्त समूहले १५ असोजमा देशभर वडा अधिवेशन गर्ने तयारी गरेको छ ।

इतर समूहले ७६ जिल्लामा केन्द्रीय प्रतिनिधि तथा ५५ जिल्लामा संयोजक तोकेर महाधिवेशनको तयारी अघि बढाइरहेको जनाएको छ । उता, १६ असोजमा विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापा नेतृत्वको कांग्रेसले पनि काठमाडौँमा केन्द्रीय महाधिवेशन आयोजना गर्ने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्