Skip to content

काँग्रेस नेता बडूको दाबी–‘कांग्रेसले बनाएको सडकसमेत स्तरोन्नति गर्न सकेन एमाले नेतृत्वले’

दार्चुला – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले दार्चुलाका स्थानीय तहमा नेकपा एमालेको नेतृत्व आएपछि विकास निर्माणले अपेक्षित गति लिन नसकेको दाबी गरेका छन् । शनिबार नेपाली कांग्रेस दार्चुलाको प्रदेशसभा क्षेत्र ‘क’ र ‘ख’ को क्षेत्रीय अधिवेशनलाई सम्बोधन गर्दै बडूले कांग्रेस नेतृत्वको स्थानीय सरकारका पालामा भएका विकास निर्माणका कामसँग अहिलेको अवस्थालाई तुलना गर्न आग्रह गरे ।

जिल्लाका अधिकांश स्थानीय तहमा एमाले नेतृत्वमा रहेको उल्लेख गर्दै उनले कांग्रेसले आफ्नो नेतृत्वमा वडा तहसम्म सडक विस्तार गरेको दाबी गरे । तर, त्यसपछि ती सडकको स्तरोन्नति गर्ने र नयाँ पूर्वाधार थप्ने कामसमेत प्रभावकारी रूपमा अघि बढ्न नसकेको उनको आरोप थियो । ‘हामीले पाँच वर्षमा वडा–वडामा सडक पुर्‍याएका थियौँ । अहिले नयाँ सडक कति बने ? हामीले बनाएका सडक कहाँ पिच भए? नयाँ के थपियो?’ बडूले प्रश्न गरे । उनले कांग्रेस नेतृत्वमा सञ्चालनमा ल्याइएका सेवामूलक कार्यक्रमले समेत निरन्तरता पाउन नसकेको बताए । विगतमा वडा–वडामा नागरिकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालन गरिएको उल्लेख गर्दै उनले अहिले त्यस्ता कार्यक्रमको अवस्था के छ भनेर जनताले प्रश्न गर्नुपर्ने बताए ।

त्यस्तै, नगरवासीलाई यातायात सुविधा दिने उद्देश्यले सञ्चालन गरिएको नगरबसलाई थप विस्तार गर्न नसकिएको भन्दै बडूले स्थानीय तहको नेतृत्वप्रति प्रश्न उठाए । कांग्रेस नेतृत्वमा नगरबस सञ्चालनमा ल्याइए पनि त्यसपछि थप नयाँ बस ल्याउने वा सेवा विस्तार गर्ने काम हुन नसकेको उनको भनाइ थियो । शैल्यशिखर नगरपालिका, महाकाली नगरपालिका लगायत जिल्लाका अन्य स्थानीय तहमा समेत विकासको अवस्थाबारे नागरिकले समीक्षा गर्नुपर्ने बडूले बताए । उनले सडक, खानेपानी, शिक्षा तथा पूर्वाधार निर्माणका क्षेत्रमा एमाले नेतृत्वमा रहेका स्थानीय तहले उल्लेख्य नयाँ काम गर्न नसकेको दाबी गर्दै कांग्रेसको नेतृत्वकालमा भएका कामसँग तुलना गरेर मूल्यांकन गर्न आग्रह गरे । ‘प्रगति र पूर्वाधार निर्माणका क्षेत्रमा, खानेपानी, सडक र शिक्षामा एमालेको योगदान के छ भनेर जनताले तुलना गरेर हेर्नुपर्छ,’ बडूले भने ।

 

प्रतिक्रिया दिनुहोस्