Skip to content

कालिगण्डकीको बाढीले पर्वतमा २० भन्दा बढी घर बगायो, सयभन्दा बढी जोखिममा

पोखरा – अविरल वर्षापछि आएको कालिगण्डकी नदीको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्से क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीले हालसम्म २० देखि २५ वटासम्म घर बगाइसकेको र अझै सयभन्दा बढी घर जोखिममा रहेको वडाध्यक्ष हरि विकास जिसीले जानकारी दिएका छन् । उनका अनुसार कालिगण्डकीमा पानीको बहाव बढेसँगै बाढी बस्तीमा पस्ने क्रम तीव्र बनेको छ। बाढीको रफ्तार बढिरहेको भन्दै उनले ठूलो भौतिक क्षति भएको बताए। ‘अहिलेसम्म २०–२५ घर बगाइसक्यो। सयभन्दा बढी घर बगाउने अवस्थामा छ,’ उनले भने, ‘ठूलो क्षति भएको छ ।’

बाढीले घरहरूमा मात्रै क्षति पुर्‍याएको छैन । स्थानीय विद्यालय, विभिन्न कृषि फार्म तथा गोठसमेत बाढीले बगाएको वडाध्यक्ष जिसीले बताए । उनका अनुसार बाढीले बस्ती डुबाउनेभन्दा पनि संरचनाहरू नै बगाएर लैजाने अवस्था देखिएको छ । बाढीका कारण ठूलो मात्रामा भौतिक संरचना तथा धनमालको क्षति भए पनि हालसम्म मानवीय क्षति भने भएको छैन । जोखिममा रहेका स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष जिसीले जानकारी दिए । ‘सबैलाई सुरक्षित ठाउँमा सारेका छौँ। मान्छेलाई समस्या छैन,’ उनले भने। उनका अनुसार अहिले स्थानीय बासिन्दालाई सुरक्षित राख्नुबाहेक तत्काल अन्य विकल्प नरहेको अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्