Skip to content

पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारीबारे कांग्रेसले माग्यो सरकारको स्पष्ट धारणा

काठमाडौं – नेपाली कांग्रेसले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको गिरफ्तारीबारे सरकारसँग आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेको छ । कांग्रेसले जबरालाई पक्राउ गर्नुको कानुनी आधार, आवश्यकता र औचित्य स्पष्ट गर्न सरकारसँग आग्रह गरेको हो ।कांग्रेस प्रवक्ता देवराज चालिसेले जारी गरेको वक्तव्यमा पार्टी संवैधानिक सर्वोच्चता, कानुनी शासन, नागरिक अधिकार तथा सबैका लागि कानुनको समान प्रयोगको पक्षमा रहेको उल्लेख गरिएको छ । पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारीका विषयमा सरकारी अधिकारीहरूबाटै परस्पर विरोधी धारणा सार्वजनिक हुनु गम्भीर चिन्ताको विषय भएको कांग्रेसले जनाएको छ । गिरफ्तारी कानुनसम्मत, आवश्यक र उचित थियो भने त्यसको स्पष्ट कानुनी आधार र औचित्य सरकारले सार्वजनिक गर्नुपर्ने कांग्रेसको भनाइ छ ।

कुनै विशेष सुरक्षा चुनौती, अनुसन्धानको आवश्यकता वा अन्य असाधारण परिस्थितिका कारण गिरफ्तारी गरिएको हो भने त्यसको विश्वसनीय आधारसमेत राज्यले स्पष्ट गर्नुपर्ने कांग्रेसले जनाएको छ । कांग्रेसले अपराध अनुसन्धान र कानुन कार्यान्वयनको विरोध नगरेको स्पष्ट पार्दै कानुन कार्यान्वयनका नाममा अस्पष्ट र अन्योलपूर्ण कानुनी प्रक्रिया अपनाइएको अवस्था स्वीकार्य नहुने बताएको छ । प्रवक्ता चालिसेले राज्यका सबै निकाय संविधान र कानुनको सीमाभित्र रहनुपर्ने उल्लेख गर्दै कसैले कानुन उल्लंघन गरेको भए निष्पक्ष अनुसन्धान गरी प्रमाणका आधारमा कारबाही हुनुपर्ने बताएका छन् । दोषी ठहरिए कानुनबमोजिम सजाय हुनुपर्ने भन्दै उनले गिरफ्तारी स्वयं दोषको प्रमाण नभएको बताएका छन् । कांग्रेसले राज्यसत्ताबाट प्रयोग हुने शक्तिलाई अझ पारदर्शी, न्यायोचित र जवाफदेही बनाउनुपर्नेमा जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस्