Skip to content

देउवालाई १६ गते उद्घाटनको अध्यक्षता गराएर १७ गते बिदा गरे एकताका लागि तयार छौँ : बलायर

काठमाडौं – नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले पूर्वसभापति शेरबहादुर देउवालाई १५औँ महाधिवेशनको उद्घाटन समारोहको अध्यक्षता गराएर बिदा गरे पार्टी एकताका लागि आफूहरू तयार रहेको बताएका छन् । सोमबार गृहजिल्ला डोटीमा आयोजित पत्रकार सम्मेलनमा बलायरले आगामी १६ असोजदेखि सुरु हुने महाधिवेशनको उद्घाटन समारोहको अध्यक्षता देउवालाई गराएर १७ असोजमा बिदा गर्न सके पार्टीभित्रको विवाद समाधान गरी एकताको वातावरण बनाउन सकिने बताएका हुन् ।

‘अझै पनि गगन थापाले १६ गतेको उद्घाटनको अध्यक्षता शेरबहादुर देउवालाई गराएर १७ गते बिदा गरिदियो भने पनि त्यसका लागि तयार छौँ हामी,’ बलायरले भने । तल्लो तहका अधिवेशनहरू भइरहेका र महाधिवेशन पनि नजिकिँदै गएकाले दुवै पक्षबाट चयन भएका महाधिवेशन प्रतिनिधिलाई समायोजन गरेर पार्टी एकता कायम गर्न सकिने उनको भनाइ छ । ‘यदि पार्टीलाई मिलाउने हो भने दुवैतिरका महाधिवेशन प्रतिनिधिहरूलाई एकै ठाउँमा हालेर पनि तिथिमिति सार्न सक्नुपर्‍यो,’ बलायरले भने । बलायरले पूर्वसभापति देउवाले आगामी २१ फागुनको निर्वाचनका लागि विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापाको हस्ताक्षर भएको टिकट माग्दा पनि नपाएको विषयलाई राजनीतिक रूपमा अर्थपूर्ण भएको दाबी गरे ।

‘शेरबहादुर देउवाले गगन थापाको दस्तखतको टिकट माग्दा पनि नपाउनु राजनीतिक रूपमा के हो ? यी कुराहरू पत्रकारहरूले पनि बुझ्नुपर्‍यो,’ उनले भने । विशेष महाधिवेशनबाट स्थापित नेतृत्वले देउवाको चाहना पूरा गरिदिएको भए उपयुक्त हुने बलायरको भनाइ थियो । देउवाले विशेष महाधिवेशनबाट निर्वाचित सभापतिको हातबाट टिकट लिएर डडेल्धुराबाट चुनाव लड्ने इच्छा राखेको उल्लेख गर्दै उनले त्यो इच्छा पूरा गरिदिनुपर्ने धारणा राखे । ‘विशेषलाई अस्वीकार गर्दागर्दै पनि विशेषबाट स्थापित भएको सभापतिको हातबाट म टिकट लिएर डडेल्धुरामा लड्छु भन्ने उहाँको इच्छा थियो,’ बलायरले भने, ‘उहाँको अन्तिम इच्छा पूरा गरिदिएको भए हुन्थ्यो नि ।’

प्रतिक्रिया दिनुहोस्