Skip to content

कांग्रेस महाधिवेशन : उद्घाटनदेखि निर्वाचनसम्मको नयाँ कार्यतालिका तय

काठमाडौँ — करिब ७ हजार महाधिवेशन प्रतिनिधि सहभागी हुने नेपाली कांग्रेसको १५औं महाधिवेशन १८ असोजमा काठमाडौंको खुलामञ्चमा उद्घाटन हुँदै छ । काठमाडौं आउने महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता १६ असोजदेखि सुरु हुनेछ । १९ र २० असोजमा बन्दसत्र तथा २१ र २२ असोजमा निर्वाचन गर्ने गरी महाधिवेशनको नयाँ कार्यतालिका अघि बढाइने भएको छ । यसअघि १६ असोजबाट महाधिवेशन सुरु गर्ने तयारी भए पनि दुई दिन सारिएको हो । महाधिवेशनको उद्घाटन र बन्दसत्र दुवै खुलामञ्चमै गर्ने तयारी छ । करिब ७ हजार प्रतिनिधि सहभागी हुने भएकाले त्यहाँ कम्तीमा तीनवटा ‘बक्स’ बनाइनेछ। एउटा बक्समा करिब ३ हजार प्रतिनिधि अट्ने गरी संरचना तयार गरिनेछ ।

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार १९ र २० असोजमा हुने बन्दसत्रमा सात प्रदेशका छुट्टाछुट्टै समूह बनाएर विभिन्न प्रस्ताव तथा दस्ताबेजमाथि छलफल गराउने तयारी छ। दुई दिनको बन्दसत्रमा राजनीतिक, सांगठनिक, समसामयिक तथा नीतिगत विषयका प्रस्तावमाथि प्रदेशगत समूहमा छलफल हुनेछ । बन्दसत्रपछि २१ र २२ असोजमा निर्वाचन गर्ने कार्यक्रम छ । त्यसका लागि पदाधिकारी तथा केन्द्रीय सदस्यका उम्मेदवारको उम्मेदवारी दर्ता, मतदान र मतगणनासहित निर्वाचन प्रक्रिया अघि बढाइनेछ ।

प्रतिक्रिया दिनुहोस्