Skip to content

विज्ञताअनुसार देश विकासमा योगदान दिन सांसदलाई प्रधानमन्त्री शाहको आग्रह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूलाई आफ्नो विज्ञता, ज्ञान, सीप र अनुभवलाई मुलुकको विकास तथा नीतिनिर्माणमा उपयोग गर्न आग्रह गरेका छन् । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सङ्घीय संसद् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले राजनीतिक विषयभन्दा दीर्घकालीन नीति, प्राविधिक विषय र नयाँ विचारमा केन्द्रित हुन आग्रह गरेका हुन् ।

छलफलमा प्रधानमन्त्री शाहले सांसदहरू प्राविधिक विषयमा जानकार हुनुका साथै मुलुकको नीतिनिर्माण गर्ने स्थानमा रहेकाले आफ्नो दक्षताको अधिकतम उपयोग गर्नुपर्ने बताए । ‘तपाईंहरू आफैँ प्राविधिक विषयमा जानकार हुनुहुन्छ, मुलुकको नीतिनिर्माण गर्ने ठाउँमा हुनुहुन्छ, देश विकासका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नुहोस्,’ प्रधानमन्त्री शाहले भने । उनले सांसदहरूलाई पार्टी राजनीतिसँगै आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई पनि प्राथमिकतामा राख्न सुझाव दिए। निर्वाचन तथा राजनीतिक गतिविधिका समयमा पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा देश विकासका लागि प्राविधिक विषयमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो । छलफलमा सहभागी सांसदहरूलाई ‘असाधारण’ मानिसको संज्ञा दिँदै प्रधानमन्त्री शाहले असाधारण व्यक्तिले घटना र व्यक्तिप्रधान विषयमा भन्दा नयाँ विचार र त्यसको कार्यान्वयनमा ध्यान दिने बताए । नयाँ विचारमा केन्द्रित भएर त्यसअनुसार काम गर्न सके पाँच वर्षमै मुलुकमा उल्लेखनीय परिवर्तन ल्याउन सकिने धारणा पनि प्रधानमन्त्री शाहले राखे ।

छलफलमा प्रधानमन्त्रीका पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, राजनीतिक सल्लाहकार असिम शाह तथा सांसदहरू तपेश्वर यादव, जगदीश खरेल (दोलखा), आशीष गजुरेल, उज्ज्वलकुमार झा, अरविन्द शाह, धर्मराज केसी, श्रीराम न्यौपाने, सागर ढकाल, सुशील खड्का र डा. राम लामाको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्